काठमाडौं । फिफा विश्वकप युरोप छनाेटमा बेल्जियमले वेल्समाथि ४-३ गोलको रोमाञ्चक जित हात पारेको छ । केभिन डि ब्रुयनाले अन्तिम समयमा गोल गरेपछि शानदार पुनरागमन गरेको वेल्स स्तब्ध बन्यो ।
गएराती भएको समुह जे को खेलमा घरेलु टिम बेल्जियमले सुरूवाती २७ मिनेटमै ३-० गोलको अग्रता लिएको थियो । १५औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टिमा गोल गरे । १९औं मिनेटमा युरी टेइलमन्सले अग्रता दोब्बर बनाए ।
२७औं मिनेटमा जेरेमी डोकुले गोल गरेपछि वेल्स ३-०-ले पछि परेको थियो । पहिलो हाफको इन्जुरी समयमा वेल्सले पेनाल्टिमार्फत् खेलमा फर्कने मौका पायो । हेरी विल्सनले गोल गर्दै बेल्जियमसँगको दुरी कम गरेका थिए ।
५१औं मिनेटमा सोर्बा थोमसले टिमका लागि दोस्रो गोल थपे । ६९औं मिनेटमा ब्रेनन जनसनले गोल गरेपछि खेल तीन तीनको रोमाञ्चक मोडमा पुगेको थियो । तर ८८ औं मिनेटमा डि ब्रुयनाले गोल गर्दै बेल्जियमको जीत सुनिश्चत गराए ।
दुई खेलबाट चार अंक जोडेको बेल्जियम तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको वेल्सको चार खेलबाट ७ अंक छ । यस्तै समुह आइमा रहेको नर्वेले इस्टोनियालाइ १-० गोलले पराजित गर्यो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ६२औं मिनेटमा अर्लिङ हालान्डले गोल गर्दै डेडलक तोडेका थिए । यहि गोलनै नर्वेको जितमा निर्णायक बन्यो । चार खेलमा शत-प्रतिशत नतिजा निकालेको नर्वे १२ अंकका साथ शीर्ष स्थानमा छ ।