लुम्बिनीमा एक लाखभन्दा बढी मत बदर, मतदाता शिक्षा प्रभावहीन

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीमा एक लाखभन्दा बढी मत बदर, मतदाता शिक्षा प्रभावहीन

दाङ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनीका १२ जिल्लामा प्रत्यक्ष तर्फमात्रै एक लाख भन्दा धेरै मतदाताको मत खेर गएको छ। 

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाएको दाबी गरे पनि बदर मतमा कमी आउन सकेको छैन। निर्वाचन आयोग मात्रै होइन निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले पनि आफ्नो चुनाव चिन्हमा मत माग्ने मात्रै तर मतदानको तरीका नसिकाउने तथा कस्तो अवस्थामा बदर हुन्छ भन्ने बारे मतदातालाई शिक्षित बनाउन नसक्दा पनि बदर मत बढेको छ।

दाङको घोराही बजारको चोकमै ४१ वर्षका शोभाराम सत्यालको जुत्ता सिलाउने पसल छ। बिहान ६ नबज्दैदेखि बेलुका ७ बजेसम्म शोभाराम आफ्नै कामका लागि पसलमै हुनुहुन्छ। फागुन २१ गते प्रतिनिधि सभाको सम्पन्न भयो शोभारामले मतदान पनि गर्नुभयो तर शोभारामसँग मत माग्नका लागि धेरै राजनितिक दल र उम्मेदवार हरू आए मतदान यसरी गर्नु पर्दछ है भनेर सिकाउन कोही पनि आएन।

२६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशका १२ जिल्लामा ३३ लाख ८६ हजार ६ सय ८० मतदाता रहेकोमा २० लाख २० हजार ६ सय ११ जनाले मतदान गरे । फागुन २१ गते सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा बदर मतको अवस्था हेर्ने हो भने निरासा जनक छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा सबै भन्दा धेरै कपिलबवस्तुको क्षेत्र नम्बर १ मा मात्रै ९२ हजार मत खसेकोमा ७ प्रतिशतभन्दा धेरै अर्थात् ६ हजार ८५६ मत बदर भयो भने भने सबै भन्दा कम रूपन्देहीको क्षेत्र नम्बर दुईमा ८६ हजार ३०३ मत खसेकोमा २ हजार २ सय ९० मत बदर भयो । 

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउने भनेर हरेक वडामा एक जना मतदाता शिक्षा स्वमसेवक र एक जना अनुगमन कर्ता खटाएको थियो । काम प्रभावकारी गरेको उनीहरूको दाबी छ तर नतिजाले भने त्यस्तो देखाउन सकेन ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा लुम्बिनीका १२ जिल्लामा मतगणनाको अवस्थालाई हेर्दा एक भन्दा धेरै निर्वाचन चिन्हमा छाप लगाएको, मतपत्रमा ल्याप्चे लगाएको, स्वस्तिक छाप नलगाइ मतपत्र खसाल्ने गरेको जस्ता कारणहरूले बदर मतको संख्या धेरै देखिएको छ । 

२०८२ पुस १२ गते लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलब १६ प्रतिशत लुम्बिनीमा साक्षरता दर छ तर मतदातामा भने साक्षरता झल्किन सकेन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.