फाइनल पोर्चुगिच सुपरस्टार ४० वर्षीय क्रिस्टियानो रोनाल्डो र स्पेनिस टिनेजर लमिन यामलका कारण हाइपमा थियो । जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा गएराति भएको खेलमा पोर्चुगल दुई पटक पछि परेको स्थितिबाट खेलमा फर्किएको हो । २१औँ मिनेटमा मार्टिन जुबीमेन्डीले गोल गरेपछि स्पेनले एक-शून्यको अग्रता लिएको थियो । उनको यो केबल दोस्रो अन्तर्राष्ट्रिय गोल हो । तर, स्पेनको अग्रता लामो समय टिकेन । २६औँ मिनेटमा नुनो मेन्डिसले पेड्रो नेटोको सहयोगमा गोल गर्दै खेल बराबरी गरे ।
ब्रेकअघि स्पेनले फेरि खेलमा पुनरागमन गर्यो । ४५औँ मिनेटमा मिकेल ओयार साबालले पेड्रिको पासमा गोल गरेपछि पोर्चुगल दुई-एक गोलले पछि परेको थियो । तर, रोनाल्डो पोर्चुगलको रेस्क्युमा उत्रिए । ६१औँ मिनेटमा गोल गर्दै रोनाल्डोले खेल दुई-दुईको रोमाञ्चक बराबरीमा पुर्याए । रोनाल्डोको राष्ट्रिय टिमका लागि यो एक सय ३८औँ गोल हो ।
८८औँ मिनेटमा रोनाल्डोलाई गोन्जाले रामोसले रिप्लेस गरेका थिए । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । प्रभावशाली प्रदर्शन गर्न नसकेका यामल एक सय पाँच मिनेटमा मैदान बाहिरिएका थिए ।
थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले गोल नगरेपछि पेनाल्टी भएको हो । जसमा पोर्चुगलले पाँचै पेना पेनाल्टीलाई गोलमा परिणत पर्यो । रोनाल्डो भने पेनाल्टी अवधिभर सर्पोटिङ स्टाफको पछाडि बसेका थिए । अल्भारो मोराटाको पेनाल्टी गोलकिपर डिएगो कोस्टाले बचाएपछि पोर्चुगल च्याम्पियन बनेको हो । रुबेन नाभेसले पोर्चुगलका लागि विजयी पेनाल्टी प्रहार गरेका हुन् ।
पोर्चुगलले यसअघि सन् २०१९ मा भएको पहिलो संस्करणको नेशन्स लिग जितेको थियो । रोनाल्डोको करियरको यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि हो । उनको कप्तानीमा पोर्चुगल सन् २०१६ को युरोकप विजेता बनेको थियो । भावुक बनेका रोनाल्डोले राष्ट्रिय टिमका लागि उपाधि जित्नु सधैँ विषेश हुने प्रतिक्रिया दिए ।