अमेरिकी कोको गौफले जितिन् फ्रेन्च ओपन महिला एकलतर्फको उपाधि

जेष्ठ २५, २०८२ |खेल ब्युरो
अमेरिकी कोको गौफले जितिन् फ्रेन्च ओपन महिला एकलतर्फको उपाधि

काठमाडौं । फ्रेन्च ओपन टेनिसको महिला एकल तर्फको उपाधि दोस्रो वरीयताकी कोको गौफले जितेकी छन् । शीर्ष वरीयताकी बेलारुसकी आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै गौफ च्याम्पियन बनेकी हुन् । 

यससँगै २०१५ यता फ्रेन्च ओपन ग्रान्डस्ल्याम जित्ने गौफ पहिलो अमेरिकी महिला खेलाडी बनेकी छन् ।

तनावपूर्ण पहिलो सेटमा दुवै खेलाडीले चार-चार पटक सर्भ गुमाएका थिए । साबालेन्काले पहिलो सेटमा ३२ अनफोर्स्ड एरर गरिन् । पहिलो सेट साबालेन्काले ७-६ ले आफ्नो पक्षमा पार्दै राम्रो सुरुवात गरेकी थिइन् । तर, त्यसपछिका दुवै सेटमा गौफले सानदार कमब्याक गरिन् । दुई घण्टा ३८ मिनेटमा साबालेन्कालाई पराजित गर्ने क्रममा गौफले दोस्रो र तेस्रो सेट क्रमशः ६-२ र ६-४ ले आफ्नो पक्षमा पारिन् ।

यससँगै २१ वर्षीया गौफले दोस्रो पटक ग्रान्डस्लाम उपाधि जितेकी छन् । यसअघि उनले सन् २०२३ मा यूएस ओपन जितेकी थिइन् । उपाधिपछि उनले दर्शकहरूको समर्थनप्रति आभार प्रकट गरिन् ।