अमेरिकाबाट करिब ४५ नेपाली ‘डिपोर्ट’, चार्टर्ड विमानमार्फत नेपाल आउँदै

जेष्ठ २५, २०८२ |बद्री गौतम
अमेरिकाबाट करिब ४५ नेपाली ‘डिपोर्ट’, चार्टर्ड विमानमार्फत नेपाल आउँदै

अमेरिका । संयुक्त राज्य अमेरिकाबाट आइतबार करिब ४५ जना नेपालीलाई ‘डिपोर्ट’ गरिएको छ । उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको अमेरिकी दूतावासलाई उद्धृत गर्दै अध्यागमन विभागले जनाएको छ ।

अमेरिकी होमल्यान्ड सेक्युरिटी अन्तर्गत इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) को अनुरोधमा अमेरिकास्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट तयार गरी पठाएको हो । यद्यपि ‘डिपोर्ट’ गरिएका नेपालीको यकिन संख्या भने खुलाएको छैन ।

यसरी ‘डिपोर्ट’ भएका नेपालीहरूमध्ये कोही बिचौलियालाई लाखौं रकम बुझाएर मेक्सिकोको सीमा हुँदै अवैधरूपमा अमेरिका छिरेका र कोही अमेरिका जाने क्रममा पनामामा पक्राउ परेकाहरू भएको अनुमान गरिएको छ । नेपाल फर्काइँदै गरेका मध्ये केही चाहिँ देश निकालाको आदेश पाएर पनि अमेरिकामै लुकेर बस्दा आईसीईले पक्राउ गरेकाहरू रहको बताइएको छ ।

गोपनीयताका कारण ‘डिपोर्ट’ भएकाहरूको सम्पूर्ण विवरण सार्वजनिक गरिएको छैन । आईसीईका अनुसार ‘डिपोर्ट’ भएकाहरूमध्ये केहीले दलाललाई एक करोड रुपैयाँभन्दा धरै रकम बुझाएर अमेरिका छिरेका थिए ।


Image

बद्री गौतम

गौतम कान्तिपुर टेलिभिजनका अमेरिका संवाददाता हुन् ।