बेलिब्रिज जडान गरेपछि कान्ति लोकपथ सञ्चालनमा

जेष्ठ २५, २०८२ |बालकृष्ण अधिकारी
बेलिब्रिज जडान गरेपछि कान्ति लोकपथ सञ्चालनमा

मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अन्तर्गत बागमती खोलामा बेलिब्रिज जडान भएपछि आइतबार बिहानबाट कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरतर्फ आइतबार बिहान बेलिब्रिज जडान सकेपछि कान्ति लोकपथ सञ्चालनमा आएको हो । 

आइतबार बिहान १० बजेदेखि कान्ति लोकपथ सञ्चालनमा आएको आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले बताउनुभयो ।

बागमती पुलको मकवानपुरतर्फ बेलिब्रिज जडान गर्न तीन वटा एक्स्काभेटरसहित करिब ५० जना कामदार र प्राविधिकहरू विगत ५ दिनदेखि खटिएका थिए । 

“बेलिब्रिजको संरक्षणका लागि ग्याबिन लगाउने कार्य पनि भइरहेको छ”, आयोजनाका इन्जिनियर साजन न्यौपानेले बताउनुभयो ।

गत असोज ११ र १२ गते आएको बाढीले बागमती पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँचमार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । वर्षायाम सुरु नहुँदै बागमती खोलामा आएको बाढीले पटक पटक पहुँचमार्ग बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान गरिएको हो । 

बागमती पुलमा जडान गरिएको बेलिब्रिजको भारवहन क्षमता ३० टन मात्र छ । सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालवाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ । मालवाहक सवारी (ट्रक/ट्रेलर) को हकमा एक पटकमा एकतर्फी गुडाउनुका साथै अधिकतम कुल वजन ३० टन र अधिकतम प्रतिएक्सल वजन १० टन मात्र हुने गरी सवारी साधन सञ्चालन गर्नु पर्ने प्राविधिकहरूले बताएका छन् ।

कान्ति लोकपथ सडक आयोजनाले जेठ २१ गते अर्थात् बुधबारदेखि २४ गते अर्थात् शनिबारसम्म चार दिन लोकपथ बन्द गरेर बेलिब्रिज जडान गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवास्थित बागमती खोलाको पुलको मकवानपुरतर्फको एउटा स्पान गत असोज ११ र १२ गते बाढीले बगाएको थियो । उक्त स्थानमा कान्ति लोकपथ सडक आयोजनाले २४ दशमलव ४ मिटर लामो र ५ मिटर चौडाइ भएको बेलिब्रिज जडान गरेको हो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।