काठमाडौं । नेपाल पौडी च्याम्पियनशिपको पहिलो दिन आज चार राष्ट्रिय कीर्तिमान कायम भएका छन् । ओलम्पियन तथा त्रिभुवन आर्मी क्लबकी डुवाना लामाले महिला ८ सय मिटर फ्रिस्टाइलमा प्रभावशाली समयसहित स्वर्ण पदक हात पारिन् ।
उनले १० मिनेट ६ दशमलव ९२ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान स्थापित गरेकी हुन् । यसअघि यो कीर्तिमान अदिती धितालको नाममा थियो । अदितीले २०१३ मा ११ मिनेट ४० दशमलव ४६ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै कीर्तिमान बनाएकी थिइन् । यसै स्पर्धामा एपीएफकी आर्या महर्जनले १० मिनेट ४६ दशमलव ७४ सेकेन्ड खर्च गर्दै अदितीको रेकर्डलाई पछि पारे पनि डुवानालाई पछि पार्न नसक्दा स्वर्ण जित्नबाट चुकिन् ।
यस्तै महिला २ सय मिटर बटरफ्लाइमा नेपाल पुलिस क्लबकी दिभान्सी जोसीले ३ मिनेट शून्य दशमलव १९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । यसअघि यो कर्तिमान स्वस्तिका भण्डारीको नाममा थियो । स्वस्तिकाले २०२३ मा यो स्पर्धा ३ मिनेट ६ दशमलव ४५ सेकेन्डमा पुरा गरेकी थिइन् ।
पुरुष १०० मिटर बटरफ्लाइमा नेपाल पुलिसका अनुभव सुब्बाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै इतिहास रच्न सफल भए । उनले ५९ दशमलव ५४ सेकेन्डमा निर्धारित दूरी पौडिएका हुन् । यसअघि यो कीर्तिमान नाजिर राय हुसेनको नाममा थियो । अनुभवले २०२२ मा नाजिरले बनाएको कीर्तिमानलाई चार सेकेन्डले ब्रेक गरेका हुन् ।
प्रतियोगिताको पहिलो दिन २६ वटा स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातदोबाटो स्विमिङ कम्प्लेक्समा जारी प्रतियोगिता भोलि सम्पन्न हुनेछ ।