काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । डान्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
लिग टूमा कठिन मानिएको युरोप भ्रमणमा नेपालले शानदार सुरुआत गरेको छ । सिरिजका पछिल्ला दुई खेलमा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डमाथि रोमाञ्चक जित हात पारिसकेको छ । टोली सोही लयलाई कायमै राख्ने लक्ष्यमा हुनेछ । अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध आरिफ शेखले ७८ र दीपेन्द्रसिंह ऐरीको ३८ रनको योगदान गरेका थिए । स्कटल्यान्डविरुद्ध करण केसीले विस्फोटक ६५ रन बनाएर नेपाललाई एक विकेटको नाटकीय जित दिलाएका थिए ।
पछिल्ला दुई खेलको प्रदर्शन हेर्दा नेपाली टोली सन्तुलित देखिन्छ । ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत दिलाएका छन् । मिडल अर्डरमा कप्तान रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले स्थिर प्रदर्शन गरिरहेका छन् ।
करण केसीले तल्लोक्रममा आक्रामक इनिङ्स खेल्दै फिनिसरको भूमिका निर्वाह गरिरहेका छन् । बलिङतर्फ सोमपाल कामी, करण, सन्दीप लामिछाने र ललित राजवंशीले पनि राम्रो प्रदर्शन गरेका छन् ।
अघिल्लो खेलमा नेदरल्यान्ड्सलाई हराएको स्कटल्यान्डका लागि चाल्र्स टियर, रिची बेरिङ्टन, म्याथ्यु क्रस र ब्रेण्डन मक्कमुलन महत्त्वपूर्ण खेलाडी हुनेछन् । बलिङमा माइकल लिस्क र ज्याक जार्भिसले नियमित विकेट लिएका छन् ।
नेपाल र स्कटल्यान्ड्सबीच खेलिएका पछिल्ला पाँच खेलमा नेपालले चार खेल जितेको छ भने स्कटल्यान्डले नेपाललाई हराउन सकेको छैन । एक खेल वर्षका कारण रद्द भएको थियो । १४ खेलमा ४ जितसहित १० अंक जोड्दै नेपाल लिग टू तालिकाको सातौं स्थानमा छ । स्कटल्यान्ड १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ ।