केन्याका म्युरुकी र नेपालकी सन्तोषीले जिते नेपाल हेरिटेज रेसको उपाधि

जेष्ठ २४, २०८२ |खेल ब्युरो
केन्याका म्युरुकी र नेपालकी सन्तोषीले जिते नेपाल हेरिटेज रेसको उपाधि

काठमाडौं । ऐतिहासिक स्थललाई जोड्दै आयोजना गरिएको नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन् । 

पुरुषतर्फ म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै उपाधि जिते । नेपाली सेनाका विनोद रोकाया १ घण्टा १७ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थानमा रहे । १ घण्टा १८ मिनेट ५१ सेकेन्डको समयसहित सुशील केसीले तेस्रो स्थान पाए । 

महिलातर्फ सन्तोषी श्रेष्ठले सुरुदेखि नै अग्रता लिँदै १ घण्टा ३१ मिनेट ४३ सेकेन्डमा फिनिश गरेकी थिइन् । सेनाकै निशा सार्की १ घण्टा ३२ मिनेट ३१ सेकेन्डमा दोस्रो भइन् भने एपीएफकी पुष्पा भण्डारी १ घण्टा ३८ मिनेट ९ सेकेन्डमा दौड सकाएर तेस्रो स्थानमा रहिन् । २५ किलोमिटर स्पर्धामा महिला र पुरुष दुवै विजेताले १ लाख रुपैयाँ प्राप्त गरे । दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ जिते । 

त्यस्तै, ५ किलोमिटर अन्डर एटिनतर्फ पनि प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । अजेय पाण्डे क्षेत्रीले १७ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै पुरुषतर्फ उपाधि जिते । सन्दीप सेन्चुरी दोस्रो भए भने अमृत विश्वकर्मा तेस्रो भए । महिला यू-एटिनतर्फ अस्मिता भुजेल पहिलो भइन् । उनले २१ मिनेट ४७ दशमलव ६६ सेकेन्डमा दौड सकिन् । भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो स्थानमा रहिन् । 

भेट्रानतर्फ धर्म महर्जनले १८ मिनेट ३१ दशमलव १५ सेकेन्डको समय निकाल्दै पुरुषतर्फ विजेता बने । लेप्साङ तामाङ दोस्रो र रामचन्द्र श्रेष्ठ तेस्रो भए । महिला भेट्रानमा शर्मिला बस्नेत २६ मिनेट १९ दशमलव ७९ सेकेन्डमा पहिलो भइन् । कल्पना महर्जन दोस्रो र केशरी थापा मगर गुरुङ तेस्रो स्थानमा रहिन् । 

५ किलोमिटर अन्डर एटिन र भेट्रान दुवै समूहमा विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रोले ३ हजार रुपैयाँ पुरस्कार पाए । २५ किलोमिटरको दौड दशरथ रंगशालाबाट सुरु भएर कुपण्डोल, पाटन, ग्वार्को, तीनकुने, एअरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, स्वयम्भू, वसन्तपुर हुँदै पुनः दशरथ रंगशाला‍मै पुगेर सम्पन्न भएको थियो । 

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र एम्स अध्यक्ष पाको बोराओले ट्रफी तथा पुरस्कार हस्तान्तरण गरे ।