काठमाडौं । पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले फिफा क्लब विश्वकप नखेल्ने प्रस्ट पारेका छन् । ४० वर्षीय रोनाल्डोले क्लब विश्वकप खेल्ने केही टिमबाट आफूलाई प्रस्ताव आए पनि स्वीकार नगरेको बताएका हुन् ।
गत मेमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अल नासार छनोट हुन असफल भएपछि क्लब विश्वकप खेल्ने टिमले रोनाल्डोसँग छलफल गरिरहेको बताएका थिए । तर रोनाल्डोले आफू क्लब विश्वकपमा सहभागी नहुने घोषणा गरेका हुन् ।
यूएफा नेसन्स लिगको फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नुअघि आज भएको पत्रकार सम्मेलनमा रोनाल्डोलाई क्लब विश्वकप खेल्नेबारे प्रश्न सोधिएको थियो । जसमा कप्तान रोनाल्डोले केही क्लबहरूको प्रस्ताव आएको बताउँदै सबै प्रतिस्पर्धा खेल्न नसकिने जवाफ दिए ।
रोनाल्डो र साउदी प्रो लिग क्लब नासारबीचको सम्झौता जुनको अन्त्यमा सकिँदैछ । रोनाल्डोले सामाजिक सञ्जालमा, लिगको अन्तिम खेलपछि च्याप्टर सकिएको लेखेका थिए । जसलाई रोनाल्डोले नासारसँगको सम्झौता नवीकरण नगर्ने संकेतका रूपमा बुझिएको छ ।
नासारले भने रोनाल्डो साउदीमै रहने दाबी गरेको छ । रोनाल्डोले आफ्नो भविष्यका विषयमा पनि लगभग निर्णय लिइसकेको जनाएका छन् । क्लब विश्वकप जुन १४ देखि जुलाई १३ सम्म अमेरिकामा हुँदैछ । प्रतियोगितामा लियोनल मेसीको इन्टर मायामीसहित ३२ टिम सहभागी छन् ।