प्रशिक्षक विल्डेको प्रमुख लक्ष्य- लगातार खेल जित्ने

जेष्ठ २३, २०८२ |खेल ब्युरो
प्रशिक्षक विल्डेको प्रमुख लक्ष्य- लगातार खेल जित्ने

काठमाडौं । नेपाली महिला फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले आफ्नो प्रमुख लक्ष्य लगातार खेल जित्ने रहेको बताएका छन् । एसियन कप छनोटलाई लक्षित गर्दै उनले महत्त्वाकांक्षी नबनी धेरै जितको लागि खेल्ने र टिमलाई दीर्घकालीन विकासका लागि सहयोग गर्ने बताएका हुन् ।

बेल्जियन मुलका प्रशिक्षक प्याट्रिकले महिला फुटबल परिवर्तन गर्न नसके प्रशिक्षणमा आएको अर्थ नहुने बताउँदै खेलाडी समेत परिवर्तन हुनसक्ने संकेत गरेका छन् । उनले साफमा उमेर समूहका सबै खेल हेर्ने र लामो क्याम्पबाट उत्कृष्ट खेलाडी छान्ने जानकारी एन्फालाई दिइसकेको बताए ।

अब एसियन कप छनोटका लागि तीन हप्ता अभ्यास गर्ने समय बाँकी छ । प्रशिक्षकले छोटो समयमै केही नयाँ नतिजा दिन पहल गर्ने र दीर्घकालसम्म टिमलाई सही दिशामा जान सहयोग गर्ने बाचा गरे ।

“हामीले विजेता जन्माउनु छ । हामीले टिममा जितको भोक ल्याउनु छ । जित्नका लागि जित्नैपर्ने छ । तर हामीले विश्वकप जित्ने भनेको होइन । हामीले जित्न सक्ने प्रतियोगिता जित्नेछौं । म यहाँ परिवर्तनको लागि आएको हुँ । परिवर्तन नगरे मेरो यहाँ हुनुको केही अर्थ छैन”, मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले भन्नुभयो ।

मुख्य प्रशिक्षक प्याट्रिकले नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको खण्डमा युरोपेली क्लबमा स्काउटमा सहयोग गर्ने बताए । उनले टिमलाई सधैं सकारात्मक अवस्थामा राख्ने र जितको भोक सिर्जना गर्ने प्रतिबद्धता जनाए । पहिलो खेलबाटै जितका लागि खेल्ने भन्दै उनले आफ्नो स्तरका प्रतियोगितामा जित हासिल गर्ने तर धेरै महत्त्वाकांक्षी नबन्ने बताएका हुन् । अहिले उज्वेकिस्तान, श्रीलंका र लाओससँगको खेलका लागि केन्द्रित हुने उनको भनाइ छ ।

“हाम्रा केही खेलाडी विदेशमा खेलिरहेका छन् । शायद अन्य खेलाडीलाई पनि प्रेरणा हुन्छ । युरोपेली स्काउट आउँछन् र म उनीहरूलाई खेलाडीको बारेमा जानकारी दिएर सहयोग गर्नेछु । तर हामीले अहिले उज्वेकिस्तानको लागि तयारी गर्नुछ, एसियन कप छनोटमा राम्रो गर्नु पर्नेछ”, उहाँले भन्नुभयो ।

व्यावसायिक फुटबलमा लागेका खेलाडीका लागि राष्ट्रिय टिमको अभ्यासलाई समय कम हुने भएकाले खेलाडीले शारीरिक र मानसिक रूपमा आफूलाई फरक टिममा खेल्न तयार गर्नुपर्ने र यस्तो खेलाडी भए मात्रै टिमले धेरै जित हासिल गर्ने समेत उनले बताएका छन् । उनले यसअघि अल्जेरिया, हंगेरी र चीनमा गरेको प्रशिक्षणमा सिकेका कुलाई नेपालमा पनि लागू गर्ने लक्ष्य राखेका छन् ।