तमोरमा पौडी खेल्न गएका युवक बेपत्ता

जेष्ठ २५, २०८२ |लक्ष्मी गौतम
तमोरमा पौडी खेल्न गएका युवक बेपत्ता

पाँचथर । तमोर नदीमा पौडी खेल्न गएका एकजना युवक बगेर बेपत्ता भएका छन् । वेपत्ता हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका ७ भालुखोप निवासी भीमकुमार राईका १६ वर्षीय छोरा शिशिर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शनिबार फिदिम बजारदेखि साथीहरुसँग पौडी खेल्न गएका राईलाई खेल्दा खेल्दै तमोर नदीले बगाएको थियो । राईलाई तमोरले बगाएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरीको उद्दार टोलीसँगै स्थानीयले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरीको भनाई छ ।

आइतबार बिहान देखि राईको खोजीका लागि स्थानीय र प्रहरीको उद्दार टोली परिचालन भएको बताइएको छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।