रोनाल्डो भर्सेस यमाल, नेसन्स लिगमा हुनेछ ऐतिहासिक भिडन्त

जेष्ठ २३, २०८२ |सुवास रोकाया
रोनाल्डो भर्सेस यमाल, नेसन्स लिगमा हुनेछ ऐतिहासिक भिडन्त

काठमाडौं । शानदार फुटबल करिअर बिताइसकेका क्रिस्टियानो रोनाल्डो, जसले शीर्ष स्थानमा रहेर फुटबलको एक युग बिताए । अर्कोतर्फ फुटबल मैदानमा चम्कँदै गरेका किशोर लमिन यमाल, नयाँ युगका उदीयमान खेलाडी । 

आइतबार राति पूरै विश्वले युरोपेली फुटबलमा दुई युगको ऐतिहासिक भिडन्त हेर्न पाउने भएको छ । जर्मनीको एलियान्ज एरेनामा, जब पोर्चुगल र स्पेन यूएफा नेसन्स लिगको उपाधिका लागि आमनेसामने हुनेछन् ।

फुटबलमा समयको चाल असामान्य हुन्छ । कहिले एउटै खेलाडीले दुई दशकसम्म प्रभुत्व जमाउाछन् त केही खेलाडी आफ्नो क्षमताको बलमा १७ वर्षमै स्टार बन्छन् । यस पटक, युरोपेली फुटबलले यस्तो क्षण देख्न पाउनेछ । जुन दशकौंसम्म याद गरिने छ । पोर्चुगल र स्पेन यूएफा नेसन्स लिगको उपाधिका लागि आमनेसामने हुँदा लेगेसी र नवीन स्टारडमबीच भिडन्त हुनेछ । 

क्रिस्टियानो रोनाल्डो र लामिन यमाल पहिलो पटक एउटै मैदानमा प्रतिद्वन्द्वीका रूपमा प्रतिस्पर्धा गर्ने छन् ।

एलियान्ज एरेनामा भएको सेमिफाइनलमा घरेलु टोली जर्मनीविरुद्ध पोर्चुगल सुरुमा पछि परेको थियो । तर दोस्रो हाफमा पोर्चुगलले दृढताका साथ पुनरागमन गर्‍यो । फ्रान्सिस्को कोन्सेसेओले ६३ औं मिनेटमा बराबरी गोल गरे । त्यसको पाँच मिनेटपछि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै आफ्नो जादू पुनः देखाए ।

स्पेन र फ्रान्सबीचको सेमिफाइनल त झन् उतारचढावपूर्ण र रोमाञ्चक थियो । ५-४ को नतिजासहित स्पेन विजयी बन्यो । यमालले ५४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे, अनि ६७ औं मिनेटमा अर्को गोल थप्दै आफूलाई स्टार साबित गरे ।

दुई पुस्ता, दुई देश, दुई सपना । यमालले जब ठूलो मञ्चमा फुटबल सुरु गरेका थिए रोनाल्डोले युरोप छाडिसकेका थिए । उनीहरू कहिल्यै एक अर्काविरुद्ध खेल्न पाएनन् । पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग पराजित भएपछि यूरो २०२४ मा पनि उनीहरू आमनेसामने हुन पाएनन् ।

अब यूएफा नेसन्स लिगको फाइनलमा, यी दुई खेलाडी पहिलो पटक एउटै मैदानमा भिड्दैछन् । एकातर्फ अनुभव र इतिहास बोकेका ३९ वर्षीय रोनाल्डो, अर्कोतर्फ स्पेनको भविष्य, फुटबलको नयाँ सुपरस्टार १७ वर्षीय यमाल ।

क्रिस्टियानो रोनाल्डोको करिअर शायद अन्त्यतर्फ छ, तर क्षमता र उत्साहमा कमी आएको छैन । यमालको यात्रा सुरुआती चरणमा छ । तर उनको आत्मविश्वास बढ्दो छ । जब यी दुई खेलाडी एलियान्ज एरेनामा पहिलो पटक आमनेसामने हुन्छन्, त्यो केवल एक खेल हुने छैन इतिहास समेत हुनेछ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।