काठमाडौं । नेपाली स्टार कराते खेलाडी एरिका गुरूङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक सफलता हासिल गर्दै कास्य पदक जितेकी छन । महिला ६८ केजीमाथिको तौल समूहमा उनले फ्रान्सकी क्लेमेन्स पीएलाई ६-२ ले पराजित गर्दै कास्य पदक आफ्नो नाममा गरेकी हुन् ।
नेपाल कराते महासंघकाअनुसार सेमिफाइनलमा स्पेनी खेलाडीविरूद्ध अंक बराबरी भएपनि सेन्सुका आधारमा पराजित भएकी एरिका कास्यका लागि पुनः भिडेकी थिइन् ।
विश्वकै शीर्ष कराते खेलाडी मात्र सहभागी हुने यस प्रतिष्ठित लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी हुन् । विश्व वरियताको ५०औं स्थानमा रहेकी एरिका पहिलोपटक छनोट हुँदै लिगमा सहभागी भएकी थिइन् ।
उनले २०औं वरियताकी क्लेमेन्सलाई खेलको सुरूवातदेखि नै दबाबमा राख्दै शानदार जित हात पारेकी हुन् । वर्ल्ड कराते फेडेरेसनले आयोजना गर्ने यो लिगलाई करातेको 'विश्वकप' मानिन्छ । पछिल्लो समय एरिका नेपाली खेलकुदको उदाउँदो तारा बनेकी छन । उनले १९औं एसियन गेम्स र एसियन कराते च्याम्पियनसिपमा रजत पदक जितिसकेकी छन ।
केही समयअघि उज्वेकिस्तानमा सम्पन्न एसियन कराते च्याम्पियनसिपमा भने उनी पदक नजिक पुगेर चुकिन् । त्यसपछि मोरोक्को पुगेकी एरिकाले कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै पदक जित्दै इतिहास रचेकी हुन् ।