नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

जेष्ठ १९, २०८२ |खेल ब्युरो
 नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप-२०२६ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

थाईल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले गत शुक्रबार थाइल्यान्डसँग बन्द रंगशालामा अभ्यास खेल खेलेको थियो । सो खेलमा नेपाल १-० ले पराजित भएको थियो । नेपाल आज पुनरागमन जितको खोजिमा हने छ ।

फिफा महिला विश्वकप खेलिसकेको थाइल्यान्डसँग नेपालले पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यद्यपि, महिला एसियन कपमा भने नेपालले सन् १९९६ र १९९९ मा थाईल्यान्डसँग दुई खेल खेलेको छ । दुबै खेलमा नेपाल ५-० ले पराजित भएको थियो । हाल फिफा वरियतामा थाइल्यान्ड ४७औं र नेपाल ९९औं स्थानमा छ ।

नेपाली टोलीले यही जुन २९ बाट उज्बेकिस्तानमा सुरू हुने महिला एसियन कप छनोटमा भाग लिनेछ । नेपाल समूह 'एफ' मा रहेको छ । यस समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंका सामेल छन । 

छनोट चरणमा ३४ टिमलाई ८ समूहमा बाँडिएको छ । प्रतेक समूह विजेताहरूले सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान बनाउनेछन् । नेपाल सम्लित समूह 'एफ' का सबै खेल उज्बेकिस्तानमा हुनेछन् ।

आजको मैत्रीपूर्ण खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरू हुनेछ ।