नेपाली राष्ट्रिय फुटबल टिमको हङकङ र एसियन कप छनोटका लागि तयारी पूरा

जेष्ठ २०, २०८२ |खेल ब्युरो
 नेपाली राष्ट्रिय फुटबल टिमको हङकङ र एसियन कप छनोटका लागि तयारी पूरा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट तेस्रो चरणको तयारी लगभग पूरा गरेको छ । 

हङकङविरूद्धको मैत्रीपूर्ण खेल बिहीबार र लाओससँग छनोट खेल जेठ २७ गते खेल्ने तालिका छ । छनोटअन्तर्गत मलेसियाविरूद्धको अघिल्लो खेलमा रणनीतिक कमजोरी भएको स्वीकार गरेका प्रशिक्षक म्याट रसको रणनीति यसपटक कस्तो होला, फुटबलप्रेमीका लागि कौतुहलताको विषय बनेको छ ।

मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गर्दै तयारीलाई अन्तिम रूप दिएका थिए । जसमा मिडफिल्डर कुशल देउवा र श्रृजनराज गौतमले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका छन । 

रसले टिमको क्षमता बढाउन मुस्ताङमा ५ दिन फिटनेस र एन्डुरेन्समा केन्द्रित हाइ अल्टिच्युड प्रशिक्षण गराएका थिए । यसले खेलाडीबीचको सम्बन्धमा सुधार आएको र फिटनेसमा पनि फाइदा पुगेको कप्तान किरण चेम्जोङ्गको विश्वास छ ।

मुख्य प्रशिक्षक रसले राष्ट्रिय टोली सम्हालेयताका दुई अन्तर्राष्ट्रिय खेलमा टिमले मिश्रित परिणाम हात परेको छ । सिंगापुरविरूद्धको ऐतिहासिक जित र एसियाली कप छनोटमा मलेसियाविरूद्धको हार । 

आफ्नो पहिलो पत्रकार सम्मेलनमा रसले नेपाललाई एसियन कप छनोटको दोश्रो चरणसम्म पुर्‍याउने लक्ष्य रहेको बताएका थिए । यद्यपि उनले मलेसियाविरूद्धको खेलमा रणनीतिक कमजोरी भएको स्वीकार गरेका थिए ।

अहिले उत्कृष्ट लयमा रहेको हङकङ पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेल सबैमा अपराजित छ । रसले हङकङको विजयी यात्रामा पूर्णविराम लगाउने र लाओसलाई पराजित गर्दै पहिलो अंक जोड्ने लक्ष्य राखेका छन । तर फिफा वरियतामा लाओस १ सय ९० औं र नेपाल १ सय ७५ औं स्थानमा छ ।

छनोटमा दुबै टोली अंकविहीन हुँदा जित हात पार्ने टोलीले पहिलो अंक जोड्ने निश्चित छ । अन्तर्राष्ट्रिय फुटबलमा लाओसविरूद्ध नेपाल पनि अपराजित छ । दुई टोलीबीच हालसम्म खेलिएका ५ मध्ये तीन खेल नेपालले जितेको छ भने २ खेलमा दुबै टिमले अंक बाँडेका छन । 

नेपालसम्मिलित समूह एफमा लाओससहित भियतनाम र मलेसिया छन । समूहको विजेताले दोस्रो चरणमा स्थान बनाउने हुँदा नेपालका लागि लाओसलाई हराउनु र स्पस्ट ३ अंक जोड्नु आवश्यक छ ।