खै बुझेको युवालाई ?

व्यवस्था होइन बेथितिविरुद्ध बोलिरहेछ युवा
जेष्ठ २०, २०८२ |दीपक आचार्य
खै बुझेको युवालाई ?

काठमाडौं । सरकारको होस् वा राजनीतिक दलका नेता कार्यकर्ता, अहिले एउटै गुनासो सुनिन्छ- गणतन्त्र स्थापनाअघि नेपाली जनताले भोग्नुपरेको अप्ठ्यारोलाई अहिलेको पुस्ताले बुझ्नै सकेन । तर युवा पुस्ताको असन्तुष्टि के हो भन्नेमा पनि न नेतृत्वले बुझेको छ न त राजनीतिक दलहरूले । 

गणतन्त्र ल्याउन भएको संघर्ष र त्यसअघिको शाही शासनकालमा जनताले पाएका दुःख नदेखेको पुस्तालाई अहिलेको व्यवस्थामार्फत राजनीतिक दलहरूले बुझाउन सकेका छैनन् । त्यही अनुभव भएको नेतृत्वले बुझाउनुपर्ने धारणा राख्ने युवाहरूले अहिले भइरहेको कामप्रति भने असन्तुष्ट देखिन्छन् ।

युवा पुस्ता देशको राजनीतिक अस्थिरताले आजित छ । त्यही अस्थिरताका कारण आफ्नो भविष्य कस्तो हुने हो भन्ने अन्योल युवाहरूमा देखिन्छ । राजनीतिक दल र उनीहरूले नेतृत्व गरेका सरकारका कामप्रति पनि उनीहरूको खासै चित्त बुझाइ छैन । कतिपय युवालाई नेतृत्व इमान्दार नै नभएको लाग्छ ।

युवाको मूल चासो रोजगारी र अवसरमै छ । देशमा यसतर्फ सरकारले ध्यान दिनै नसकेको उनीहरूको बुझाइ छ ।

यसबारे सुशासन, विकास निर्माण र सेवा प्रवाहमा अझै निकै धेरै गर्न बाँकी छ भन्ने उनीहरूलाई लाग्छ । व्यक्तिगत र दलगत स्वार्थमा नेतृत्व लिप्त हुँदा व्यवस्थाप्रति नै वितृष्णा पैदा भएको हो कि भन्ने प्रश्न पनि छ । तर युवाहरू व्यवस्थाभन्दा अवस्थाप्रति बढी चिन्तित देखिन्छन् ।

लोकतान्त्रिक व्यवस्थाका लागि भएको आन्दोलन र संघर्ष बुझेका युवाहरू पनि छन् जसलाई व्यवस्था बदल्दैमा अवस्था बदलिन्छ भन्ने विश्वास छैन । त्यो पश्चगामी बाटो हुने पनि उनीहरूले बुझेको देखिन्छ ।

युवाको निराशा सम्बोधन गर्ने जिम्मा राजनीतिक नेतृत्वकै हो । तर युवाको गुनासो छ, न राजनीतिक दल न त राज्य, उनीहरूलाई कसैले बुझ्नै सकेन । यति हुँदा हुँदै पनि उनीहरू चाहन्छन् नयाँ र पुराना मिलेर व्यवस्थाका विषयमा बुझाउने र अगाडि बढ्नतर्फ लाग्दा राम्रो हुनसक्छ ।

लामो समय नेतृत्वमा रहेको पुस्ताबाट अब आफ्ना लागि धेरै काम हुन नसक्ने र नेतृत्वमा पुस्तान्तरण नभई सुधार सम्भव नभएको बुझाइ राख्नेहरू पनि उत्तिकै छन् । पाको पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबाटै सुधार खोज्न सकिने उनीहरू बताउँछन् ।

गणतन्त्रले वाक् स्वतन्त्रता दिएको छ भनेर मात्र युवा पुस्ता आश्वस्त हुने स्थिति छैन । सँगसँगै गुणस्तरीय शिक्षा, स्वास्थ्य, चुस्त सार्वजनिक सेवा प्रवाह र रोजगारीको अवसरको समान र न्यायोचित वितरण भए मात्र उनीहरूको लागि गणतन्त्रले अर्थ राख्छ । प्रविधिसँग खेल्दै हुर्किएको पुस्तालाई गणतन्त्रले दिएको सुविधा र स्वतन्त्रता बुझाउँदै जसको युग उसकै नेतृत्व हुने गरी नेतृत्व पुस्तान्तरण गर्दै नजाने हो भने यो निराशा अझै बढ्ने छ ।

अहिले राजनीतिक नेतृत्वले भन्ने गरे जस्तो सबै युवाहरू व्यवस्थाको विरुद्धमा छैनन् । बेथितिको विरोधमा उठाएका आवाजलाई राजनीतिज्ञहरूले त्यो बाटोतर्फ देखाउन खोजेको देखिन्छ ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।