काठमाडौं । एएफसी महिला एसिया कप छनोटको तयारीका लागि थाइल्यान्डसँग खेल्न जान लागेको नेपाली महिला टिमलाई आज अखिल नेपाल फुटबल संघ, एन्फाले विदाइ गरेको छ ।
यही जेठको तेस्रो साता थाइल्याण्डसँग बैंककमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । भोलि थाइल्यान्ड जाने टिमलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले विदाई गर्दै जितको शुभकामना दिए । उनले थाइल्यान्डबाट फर्किएपछि टिमले प्रो-लाइसेन्स प्रशिक्षक पाउने बताएका छन् ।
प्रतियोगितका लागि कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा अञ्जना रानामगर, उषा नाथ, अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, सुष्मा तामाङ, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् भने सावित्रा भण्डारी युरोपबाट र रेखा पौडेल यूएईबाट सिधै थाइल्याण्डमा टिममा समावेश हुने एन्फाले जनाएको छ ।
एएफसी महिला एसिया कपको समूह एफ मा रहेको नेपालका लागि यो नै अन्तिम अभ्यास खेल हो ।