काठमाडौं । एसियन कप छनोटको तयारीमा जुटेको नेपाली महिला फुटबल टिमले बलियो टोली थाइल्यान्डसँग पहिलोपटक मैत्रीपूर्ण खेल खेल्दैछ ।
यही जेठको तेस्रो साता थाइल्याण्डसँग बैंककमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले विदाई गर्दै जितको शुभकामना दिए । उनले थाइल्यान्डबाट फर्किएपछि टिमले प्रो-लाइसेन्स प्रशिक्षक पाउने बताएका छन ।
थाइल्यान्डसँगको खेल नेपाली टिमको लागि आफ्नो प्रदर्शनको क्षमता जाँच्ने र कमजोरी सुधार्ने अवसर हो । घरेलु लिगमा व्यस्त र विदेशी लिगको समेत अनुभव बटुलेका खेलाडीले टिम सन्तुलित भएको बताइरहँदा रेखा पौडेल र सावित्रा भण्डारी भने अन्तिम समयमा मात्रै सहभागी हुने भएका छन ।
प्रतियोगितका लागि कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा अञ्जना रानामगर, उषा नाथ, अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, सुष्मा तामाङ, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् भने सावित्रा भण्डारी युरोपबाट र रेखा पौडेल यूएईबाट सिधै थाइल्याण्डमा टिममा समावेश हुने एन्फाले जनाएको छ ।
एएफसी महिला एसिया कपको समूह एफ मा रहेको नेपालका लागि यो नै अन्तिम अभ्यास खेल हो ।