काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युक्रेनसँगको शान्तिवार्तामा अघि बढ्न अस्वीकार गरेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगोसँग खेलिरहेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ । रूस र युक्रेनबीच अस्थायी युद्धविराम गराउने आफ्नो प्रयास असफल बन्दै गएपछि ट्रम्पको दिक्दारी बढ्दै गएको हो ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यदि आफू नभएको भए रूसविरुद्ध थुप्रै र वास्तवमै खराब कुराहरू भइसक्थे भन्ने कुरा भ्लादिमिर पुटिनले बोध नगरेको उल्लेख गर्नुभएको छ । ‘पुटिन आगोसँग खेल्दैछन्’ ट्रम्पले अगाडि लेख्नुभएको छ ।
ट्रम्पको यो ताजा पोस्टले रूसी र अमेरिकी उच्च अधिकारीबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप भएको छ । रूसी पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्पले भनेको सबैभन्दा खराब कुराले तेस्रो विश्वयुद्ध हुन सक्ने र यो कुरा उहाँले बुझेको हुनुपर्ने बताउनुभएको छ । प्रतिउत्तरमा युक्रेनका लागि ट्रम्पका दूत केइथ केलोगले तेस्रो विश्वयुद्धको डर देखाउनु दुर्भाग्यपूर्ण र विवेकहीन भन्दै मेदभेदेवको आलोचना गर्नुभएको छ ।
यसअघि आइतबार पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले पुटिन बहुलट्ठी बनेको टिप्पणी गर्नुभएको थियो ।
गत साता रूस र युक्रेनबीच इस्तानबुलमा प्रत्यक्ष शान्तिवार्ता भएपछि ट्रम्पले पुटिनसँग झन्डै दुई घण्टा लामो टेलिफोन वार्ता गर्नुभएको थियो । वार्तामा पुटिनले युक्रेनसँगको युद्धविरामका लागि एउटा विस्तृत प्रस्ताव ‘मेमोरेन्डम अफ पीस’ लेखेर पठाउने वाचा गर्नुभएको थियो । एक साताभन्दा बढी समयभइसक्दा पनि रूसले अमेरिकालाई अझै सो प्रस्ताव पठाएको छैन ।
यसैबीचमा रूसले युक्रेनमाथिको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्रता दिएको छ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनमाथि दबाब बढाउन ट्रम्पलाई आह्वान गर्दै आउनुभएको छ । पुटिनप्रति थप आक्रोशित ट्रम्पले रूसविरुद्ध थप प्रतिबन्ध लगाउन सक्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमले टिप्पणी गरेका छन् ।