बार्सासँग यामलकाे सम्झौता नवीकरण

यामल २०३१ सम्म बार्सीलोनामा रहने पक्का
जेष्ठ १४, २०८२ |खेल ब्युरो
बार्सासँग यामलकाे सम्झौता नवीकरण

काठमाडौं । यो सिजन उत्कृष्ट प्रदर्शन गरेका लमिन यामलले स्पेनिस क्लब बार्सीलोनासँग ६ वर्षको नयाँ सम्झौता गरेका छन ।

१७ वर्षीय यामल सम्झौता नवीकरण गरेसंँगै अब सन २०३१ सम्म बार्सीलोनामा रहने पक्का भएको हो । हालको सम्झौता २०२५-२६ सम्मका लागि थियो । यामलले २०२३ मा १५ वर्षको उमेरमा बार्सीलोनाबाट डेब्यु गरेका थिए । 

यो सिजन उनले ५५ खेल खेल्दै १८ गोल र २५ एसिस्ट गरेका थिए । यामलको उत्कृष्ट प्रदर्शनको मदतमा बार्सीलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधी जित्यो । 

बार्सीलोनाले , क्लबका अध्यक्ष योहान लोपोर्टा र निर्देशक डेकोको उपस्थितीमा यामलले सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएको हो । स्थानिय संचारमाध्यमका अनुसार प्रदर्शनसँग जोडिएका केही सिमा पुरा गरे यामल क्लबको सर्वाधिक महंगा खेलाडी बन्न सक्नेछन् । 

यामल यो वर्षको बालुन दो अवार्डका मुख्य दावेदार खेलाडी पनि हुन् । क्लबका लागि १ सय १५ खेल खेलेका यामलले २५ गोल गरिसकेका छन् । कोपा डेल रे , ला लिगा र स्पेनिस सुपर कपको इतिहासमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । 

आगामी जुलाइमा १८ वर्ष पुग्ने उनी बार्सीलोनाका लागि एक सय खेल पुरा गर्ने पनि सबैभन्दा कम उमेरका खेलाडी हुन् । यामलले स्पेनका लागि १९ क्याप जितेका छन । सन २०२४ मा इङल्यान्डलाई २-१ गोलले पराजित गर्दै युरोकप जित्दा उनी टिमको महत्वपुर्ण सदस्य थिए ।