काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको श्री टोखा भगवती क्लबले एक करोड रुपैपाँ आर्थिक सहयोग प्राप्त गरेको छ ।
गत साता दशरथ रंगशाला र सातदोबाटोको एन्फा कम्प्लेक्समा सम्पन्न ‘सहिद स्मारक बी डिभिजन लिग’मा उपविजेता बनेर ए डिभिजनमा स्थान बनाएको भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको हो ।
सोमबार नगरपालिकाले आयोजना समारोहमा क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सम्मान गर्दै नगर प्रमुख प्रकाश अधिकारीले आर्थिक सहयोगको घोषणा गर्नुभयो ।
प्रमुख अधिकारीले क्लबको सफलताले टोखा नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको उल्लेख गर्दै आगामी दिनमा क्लबलाई आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनु भयो ।
कार्यक्रममा उपप्रमुख मुरारी तामाङले क्लबलाई भूतखेल खुला मञ्च प्रयोग गर्न दिने तथा एकेडेमी सञ्चालनको व्यवस्था मिलाउने बताउनु भयो ।
बी डिभिजनका १३ खेलमा ७ जित, ५ बराबरी र १ हारसहित २६ अंक बटुल्दै उपविजेता बनेको भगवती क्लबले आगामी सिजन ए डिभिजन लिग खेल्नेछ ।
नगरपालिकाले क्लबका खेलाडी तथा अफिसियलहरूलाई मायाको चिनो र खेल पोसाक वितरण गरेका थिए ।