बैगलुरू आईपीएलको पहिलो क्वालिफायरमा प्रवेश

जितेसको उत्कृष्ट इनिङसका कारण पन्तको शतक छायाँमा
जेष्ठ १४, २०८२ |खेल ब्युरो
बैगलुरू आईपीएलको पहिलो क्वालिफायरमा प्रवेश

काठमाडौं । रोयल च्यालेन्जर्स बैङलुरूले इन्डियन प्रिमियर लिग-आईपीएलको शीर्ष दुईमा स्थान बनाएको छ । लिगको अन्तिम खेलमा लखनऊ सुपर जायन्टस् माथि ६ विकेटको रोमाञ्चक जित हात पारेपछि आरसीबीले पञ्जाब किंग्स विरूद्ध पहिलो क्वालिफायर खेल्ने भएको हो । 

आरसीबीका कप्तान जितेस शर्माको उत्कृष्ट इनिङसका कारण लखनऊ कप्तान रिसब पन्तको शतक छायामा पर्यो । लखनऊस्थित एकाना स्टेडियममा गएराती भएको खेलमा आरसिबीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । 

लखनऊले २० ओभरमा तीन विकेट गुमाएर २ सय २७ रनको विशाल योगफल बनाएको थियो । ओपनर म्याथ्यु ब्रेट्ज्के १४ रनमा नुवान तुसाराको बलमा आउट भए । मिचेल मार्श र पन्तले दोस्रो विकेटका लागि १ सय ५२ रनको साझेदारी गरे । 

मार्शले ३७ वलमा ६७ रनको योगदान गरे । निकलस पुरन १३ रनमा मैदान बाहिरिएका थिए । पन्त १ सय १८ रनमा अविजित रहे । ६१ वल खेलेका उनले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । 

यसअघिका खेलमा चल्न नसकेका पन्तले शतक बनाएपछि ब्याकफ्लिप गर्दै सेलिव्रेशन गरे । पन्तले आईपीएलमा सात वर्षपछि शतक प्रहार गरेका हुन् । आईपीएल इतिहासकै सर्वाधिक मंहगा खेलाडी पन्तको टिम यसअघिनै प्ले अफ दौडबाट भने बाहिरी सकेको थियो । 

भुवनेश्वर कुमार र रोमारियो सेर्फडले एक-एक विकेट लिए । जवाफमा आरसिबीले ८ बल बाँकी हुँदानै ४ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । आरसीबीले आईपीएलको आफ्नो इतिहासमा अहिले सम्मकै उच्च रन चेज गरेको हो । 

फिल सल्ट र विराट कोहलीले पावर प्लेमा राम्रो सुरुवात दिलाएका थिए । सल्ट आकाश सिंहको बलमा ३० रनमा आउट भए । रजत पाटिदार १४ रनमा मैदान बाहिरिदा लियाम लिभिङस्टनले खाता खोल्न सकेनन् । 

पाँचौ विकेटका लागि जितेश र मयंक अग्रवालले ४५ वलमा १ सय ५ रनको साझेदारी गरेपछि आरसीबीले रोमाञ्चक जित हात पारेको हो । १७औं ओभरमा जितेश दिग्बेश राठीको बलमा आउट हुनबाट जोगिएका थिए । जितेशले ३३ बलमा ८८ रनको उत्कृष्ट इनिङस खेले । 

आईपीएलमा उनको यो पहिलो अर्धशतक पनि हो । मयंकले २३ वलमा ४१ रन जोडेर साथ दिए । विल ओ रुकले दुई विकेट लिए । आरसीबी १४ खेलबाट १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा रह्यो । 

समान अंक जोडेको पञ्जाब शीर्ष स्थानमा छ । अहिलेसम्म उपाधि जित्न नसकेका आरसीबी र पञ्जाब बीचको पहिलो क्वालिफायर भोली हुनेछ । जित हात पार्ने टिम फाइनल पुग्नेछ । पराजित टिमले अझै अर्को एक मौका पाउनेछ । शुक्रबार एलिमिनेटरमा मुम्बई इन्डियन्स र गुजरात टायटन्सबीच खेल हुनेछ ।