बर्दिया । गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षिया बालिका सायरा थारूको बुधबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाले चितुवालाई नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन गरेको छ ।
पशु चिकित्सक डा. विकल्प कार्कीसहित निकुञ्जका चार जना प्राविधिक र दुई वटा हात्ती ठाकुरद्वाराबाट वालापुरतर्फ गएको संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले बताउनुभयो । चितुवालाई डार्ट गरी नियन्त्रणमा लिन हात्ती र प्राविधिक टोली खटिएको उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालय बर्दियाले पनि चितुवाको खोजी गरिरहेको छ ।
यसअघि गत वैशाख १५ गते पनि गुलरिया–८ स्थित सयु सामुदायिक वनमा ९ वर्षिया मेलिना खडकाको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । गत मंसीर यता चितुवाको आक्रमणमा बर्दियामा चार जनाको ज्यान गइसकेको छ । यसै अवधिमा चितुवाको आक्रमणमा १६ जना घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ ।