अन्तर्राष्ट्रियस्तरको बन्दैछ राखेपस्थित कभर्ड हल

जेष्ठ ११, २०८२ |प्रदीप लेखी
अन्तर्राष्ट्रियस्तरको बन्दैछ राखेपस्थित कभर्ड हल

काठमाडौं । चार दशकसम्म नेपाली खेलकुदको भार धान्दै आएको राष्ट्रिय खेलकुद परिषद्को हाताभित्र रहेको बहुउद्देश्यीय कभर्ड हलको पुनर्निर्माण सुरु भएको छ । कमजोर पूर्वाधारका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नै समस्या हुन थालेपछि राष्ट्रिय खेलकुद परिषद्ले कभर्ड हल पुनर्निर्माण गरेर अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागेको हो । आगामी असार १५ गतेभित्र पुनर्निर्माण सकिने राखेपले जनाएको छ ।

२०३५ सालमा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य-सचिव शरदचन्द्र शाहको पालामा निर्माण भएको राखेपको बहुउद्देश्यीय कभर्ड हलले नेपाली खेलकुदको भार धानेकै चार दशक भइसक्यो । योबीचमा खेलकुद मन्त्रालय र राखेपमा कयौं नेतृत्व फेरियो । तर, कभर्ड हलको मुहार कहिल्यै फेरिएन । 

२०७२ सालको विनाशकारी भूकम्पले यो हलमा ठूलो क्षति पुग्यो । भूकम्पपछि राखेपले कभर्डहलको अगाडिको संरचना परिवर्तन गरियो । तर, भित्री संरचना भने यथावतै थियो । अहिले भित्री संरचना पुनर्निर्माण गरी कभर्डहललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जनाउनु भयो । 

कभर्ड हल पुनर्निर्माण गर्न राखेपले सरकारसँग ९ करोड रुपैयाँ माग गरेको थियो । तर, चालु आर्थिक वर्षको बजेटमा ५ करोड मात्र निकासा भएकाले त्यही बजेटबाट अहिले काम थालिएको हो । 

कभर्ड हल बनाउन राखेपले ४ करोड २८ लाख रुपैयाँमा सुनकोशी कन्स्ट्रक्सन प्रालिलाई जिम्मा दिएको हो । ६० दिनभित्र निर्माण सक्न गत वैशाख २५ गते सम्झौता भएको हो । सबै क्षेत्रमा एकैचोटी काम भइरहेकाले आगामी असार १५ गतेभित्रै निर्माण सम्पन्न हुने राखेप र निर्माण कम्पनीले विश्वास लिएका छन् ।

पुनर्निर्माण गरिएको कभर्ड हल साउन्ड प्रुफको हुनेछ । कभर्ड हलमा एयर कन्डिसनसमेत जडान गरिने भएको छ । १५ सयको हाराहारीमा रहेको सिट क्षमता पनि केही बढाइँदै छ । भिआइपी कक्ष, रेस्ट रुम, चेन्जिङ रुम, शौचालय, बिजुली लगायतको व्यवस्था गुणस्तरीय बनाइनेछ । 

कभर्ड हलमा काठको रेलिङको सट्टा स्टिल राखिनेछ भने ढोका पनि परिवर्तन गरिँदै छ । भिआइपी कक्षमा प्रवेश गर्न यसअघि एउटा मात्र भर्‍याङ रहेकोमा अब दुई वटा बनाइएको छ ।

त्यसो त अर्को कभर्ड हल बनाउनुपर्ने माग पनि हुँदै आएको छ । तर, सरकारले तत्काल अर्को बनाउन नसकेपछि राखेपले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न समस्या नहोस् भनेर पुरानैलाई पुनर्निर्माण गरेको हो । यो हल पुनर्निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा हुनेछ । तर, सिट क्षमताको हिसाबले भने अपुग नै रहनेछ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।