काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण यही जेठ १७ गते हुने भएको छ । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा 'लेट्स रन फर ग्रिनर टुमरो' रहेको छ ।
प्रतियोगितामा चार विधामा दौड हुनेछन् । महिला र पुरुषतर्फ २१.१ किलोमिटरको हाफ म्याराथन हुनेछ भने ६ किलोमिटरको कर्पोरेट एन्ड सेलेब रन, ७ किलोमिटरको कलेज रन र ३ किलोमिटरको ह्वीलचेयर रन हुनेछन् । आज आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेसन्सका सीईओ महेश स्वाँरले हरेक वर्ष हाफ म्याराथनलाई पुरस्कृत गर्दै जाने क्रमममा यसपालि पुरस्कार रकम वृद्धि गरिएको जानकारी दिनुभयो ।
यस वर्ष प्रतियोगिताको कुल पुरस्कार राशिमा ८ लाख नगद र ४ लाख बराबरको गिफ्ट ह्याम्पर समावेश छ । कान्तिपुर हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पाउनेछन् । ह्वीलचेयर रेसतर्फ विजेताले ३५ हजार पाउनेछन् भने कर्पोरेट र सेलेब रन तथा कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले पनि पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने खेलाडीले २५ हजार पाउने छन् ।
कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डल, तीनकुने, कोटेश्वर, जडिबुटी, सल्लाघारी हुँदै कटुन्जे रोडमा पुगेर सोही रूटबाट सेन्ट्रल बिजनेस पार्क आएर टुंगिनेछ ।
प्रतियोगितामा स्टार खेलाडी सन्तोषी श्रेष्ठ, पुष्पा भण्डारी, पूर्णलक्ष्मी न्यौपाने, राजन रोकाय, खड्गबहादुर थापा, गोपीचन्द्र पार्की लगायतको सहभागिता निश्चित भइसकेको छ । सहभागी हुन चाहने खेलाडीले कान्तिपुर इभेन्ट्स डटकममार्फत वा थापाथली कार्यलयमा गएर फर्म भर्न सक्नेछन् ।
यो संस्करणमा चार हजार धावक सहभागी बन्ने अपेक्षा गरिएको छ । कान्तिपुर हाफ म्याराथनमा महिलातर्फ कान्छीमाया कोजुले ५ पटक र पुरुषतर्फ हरिकुमार रिमालले चार पटक उपाधि जितिसकेका छन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स, ईकान्तिपुर र कान्तिपुर इभेन्ट्सको युट्युबमा हेर्न सकिनेछ ।