जोकोभिचको ऐतिहासिक सफलता: एकल तर्फ १००औं टुर लेभल उपाधि

जेष्ठ ११, २०८२ |खेल ब्युरो
जोकोभिचको ऐतिहासिक सफलता: एकल तर्फ १००औं टुर लेभल उपाधि

काठमाडौं । सर्बियाका नोभाक जोकोभिचले करियरमा ऐतिहासिक सफलता प्राप्त गरेका छन । पूर्व नम्बर एक जोकोभिचले एकल तर्फ एकल सयौं टुर लेभल उपाधि जित्दै अर्को कोशेढुंगा पुरा गरे ।

जोकोभिचले जेनेभा ओपन टेनिसको फाइनलमा पोल्यान्डका हुवर्ट हुर्काजलाई तीन सेटमा सेटमा हराएका हुन । गत बिहिबार ३८ वर्ष पुगेका जोकोभिच एक सेटले पछि परेको स्थितीबाट खेलमा फर्किएका थिए । 

छैटौं वरियताका हुर्काजले पहिलो सेट ७-५ ले जिते । तर बाँकी दुई सेटमा २४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले उत्कृष्ट पुनरागमन गरे । टाइब्रेकरमा पुगेको सेट ७-६ ले आफ्नो पक्षमा पार्दै उनले खेल १-१को बराबरी गरेका थिए । 

यसअघि भएका सवै सात भेटमा हुर्काजलाई पराजित गरेका जोकोभिचलाई यो पटक भने त्यती सहज भएन् । तेस्रो सेट पनि टाइब्रेकरमानै पुगेको थियो । तर अनुभवी जोकोभिचले ७-६ ले जित्दै किरियरको एक सयौं टुर लेभल उपाधि आफ्नो नाममा लेखाए । 

जितपछि जोकोभिचका बच्चाले कोर्टमानै पुगेर उनलाई बधाइ दिएका थिए । यो खेल तीन घन्टा पाँच मिनेट सम्म चलेको थियो । जुन यो वर्षको प्रतियोगिताको सबैभन्दा लामो खेल पनि हो । 

गत वर्ष पेरिस ओलम्पिकमा स्वर्ण जिते यता जोकोभिचको यो पहिलो उपाधि हो । उनी जेनेभा ओपनमा उपाधी जित्ने सबैभन्दा पाको उमेरका खेलाडी पनि हुन् । टेनिसमा प्राय सवै सफलता प्राप्त गरिसकेका जोकोभिच ओपन एरामा एक सयौं टुर लेभल उपाधि जित्ने केवल तेस्रो खेलाडी हुन् । जोकोभिचले अब फ्रेन्च ओपनमा प्रतिस्पर्धा गर्नेछन् ।