पीएम कप एनभीए लिगको महिलातर्फ पुलिस शीर्ष र न्यु डाइमन्ड दोस्रो स्थानमा

जेष्ठ ११, २०८२ |भुपाल गुरुङ
पीएम कप एनभीए लिगको महिलातर्फ पुलिस शीर्ष र न्यु डाइमन्ड दोस्रो स्थानमा

कास्की । नेपाल पुलिस क्लब नवौं पीएम कप एनभीए लिगको महिलातर्फ शीर्षस्थानमा उक्लिएको छ । राउन्ड रोबिन शैलीमा भइरहेको प्रतियोगितामा आज लगातार तेस्रो जित हात पारेर पुलिसले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

पुलिसले आज अर्को विभागीय टिम नेपाल एपीएफ क्लबलाई ३-१ ले हराएको हो । आजको जितसहित पुलिस ३ खेलबाट ९ अंक बनाएर तालिकाको शीर्षस्थानमा पुगेको हो । 

पोखरा रंगशालाको कभर्ड हलमा भएको खेलको पहिलो सेट २५-१९ ले जित्दै पुलिसले अग्रता बनाएको थियो । तर, प्रतिस्पर्धात्मक दोस्रो सेट एपीएफले २६-२४ ले जितेपछि खेल एक-एकको बराबरीमा पुग्यो । 

त्यसपछि एपीएफले लय गुमाएपछि पुलिसले तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्‍यो । चौथोमा २५-२१ को जित निकाल्दै पुलिसले लिगमा ३ अंक जोड्यो । आजको खेल जितेको भए एपीएफ शीर्ष स्थानमा पुग्ने थियो । 

यसैगरी, आजको पहिलो खेलमा न्यु डायमण्ड क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो । आर्मीले पहिलो सेटमा २५-२१ को जित निकालेको थियो । एक-शून्यले पछि परेको अवस्थामा न्यु डायमन्डले पुनरागमन जित हासिल गरेको हो । न्यु डायमन्डले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५-१४, २५-२१ र २५-२१ ले जित्यो । 

न्यु डायमण्डकी सलिना बुढामगर प्लेयर अफ दि म्याच घोषित भइन् । लगातार ३ जितपछि ९ अंक बनाएको न्यु डायमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ । आर्मीले भने जारी लिगमा लगातार तेस्रो खेलमा हार ब्यहोर्‍यो ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।