गृह मन्त्रालय कर्मचारी संयन्त्रको कोड : 'पुक्क हान्ने' ! कसलाई हान्ने होला त पुक्क ?

जेष्ठ ११, २०८२ |किरण पौडेल
गृह मन्त्रालय कर्मचारी संयन्त्रको कोड : 'पुक्क हान्ने' ! कसलाई हान्ने होला त पुक्क ?

काठमाडौं । गृह मन्त्रालयको कर्मचारी संयन्त्रमा एउटा कोड छ : 'पुक्क हान्ने' ! कसलाई हान्ने होला पुक्क ? त्यो पनि गृह मन्त्रालयमा ?

सुन्दा अचम्म मान्नुभयो, नमान्नुस् । यो 'पुक्क हान्ने' भनेको कुनै व्यक्तिलाई होइन ! अहिले चर्चामा रहेको भिजिट भिसाका नाममा हुने मानव तस्करीको कोड हो । अर्थात् गृहबाट जुन कर्मचारी एयरपोर्ट जान्छन्, उनीहरु मानव तस्करसँगको मिलेमतोमा विदेश जानेहरुको पासपोर्टमा सरकारी स्ट्याम्प उठाउँछन्, छाप हान्छन् र आवाज आउछ- पुक्क !

हो यही कोडमा चलिरहेको छ वर्षौंदेखि मानव तस्करीको जालो । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भिजिट भिसा प्रकरणमा गृह प्रशासनको नेतृत्व नै जोडिएको शङ्कामा अनुसन्धान र निगरानी बढाएको छ ।

अख्तियारले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि गृह अन्तर्गतका उच्च अधिकारीहरुमाथि निगरानी बढाएको हो । 

 गृहसचिव गोकर्णमणि दुवाडी, मन्त्रालयको कर्मचारी प्रशासन हेर्ने सहसचिव छवि रिजाल र अध्यागमन प्रमुख गोविन्द रिजाललाई शङ्काको घेरामा राखिएको अख्तियारले जनाएको छ । 

सहसचिव भट्टराई पक्राउपछि मन्त्रालयले १५ कर्मचारीको जिम्मेवारीसमेत हेरफेर गरिसकेको छ । अध्यागमन विभागले भने अख्तियारले छापा मारेको र आरोप लागेको विषयमा आन्तरिक रूपमा छानबिन गरिरहेको बताएको छ ।

बिगतमा यस्तै प्रकरणमा परेर अनुसन्धान र मुद्दा नै चलेका कर्मचारीहरु मन्त्रीको सचिवालयमा रहेकाले पनि निगरानी र अनुसन्धान बढाइएको अख्तियारले जनाएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।