सिरहाको नवराजपुर गाउँपालिकास्थित जनता माविमा शिक्षक भर्ना गर्दा लाखौं रकम असुली (अडियो संवादसहित)

जेष्ठ ११, २०८२ |विनय आजाद
सिरहाको नवराजपुर गाउँपालिकास्थित जनता माविमा शिक्षक भर्ना गर्दा लाखौं रकम असुली (अडियो संवादसहित)

सिरहा । नवराजपुर गाउँपालिकाको एक सामुदायिक विद्यालयमा १२ जना शिक्षक कर्मचारी भर्ना गर्दा लाखौं रकम असुली भएको खुलासा भएको छ । विद्यालयमा नियुक्त भएकाहरुसँग जनही ३ देखि ५ लाख रुपैयाँसम्म लिएर परीक्षाअगावै प्रश्नपत्र र उत्तरसमेत उपलब्ध गराइएको तथ्य कान्तिपुरले फेला पारेको हो । यसरी घुस रकम बुझाएकाहरुलाई नै मिलेमतोमा विद्यालयको शिक्षक कर्मचारीमा छनोट गरिएको पाइएको छ ।

सिरहाको नवराजपुर गाउँपालिका-४ सोनवर्षास्थित जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा करारमा शिक्षक भर्ना गर्दा व्यापक आर्थिक चलखेल भएको तथ्य फेला परेको हो । यस विद्यालयमा गत वैशाख २६ मा १२ जना शिक्षक कर्मचारी छनोट गरिएको थियो । तर, छनोट भएका उम्मेदवारहरुसँग प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म उठाइएको पुष्टि हुने एउटा गोप्य अडियो नै कान्तिपुरले फेला पारेको छ । 

शिक्षक-कर्मचारी भर्ना प्रक्रियामा सम्मिलित पालिकाका जिम्मेवार व्यक्तिहरुमध्येका पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा हाल योजना शाखा प्रमुख घुरन यादव र विद्यालय व्यवस्थापन समितिका सदस्य जीवछ यादवले नै रकम लिएको कुरा बोल्नुभएको छ ।

प्रशासकीय अधिकृत यादवले केही उम्मेदवारसँग आफूले पनि पैसा बुझेको तथा अन्यसँग गाउँपालिका अध्यक्ष शिवउदगार यादव तथा उहाँकी श्रीमती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादव र विद्यालयका प्रधानाध्यापक मुरारी शर्माले बुझेको संवादका क्रममा उहाँहरुले बोल्नुभएको छ ।

अडियो संवादमा धुरन यादव र जीवछ यादव

जीवछ : रामचन्द्रले भन्दैछन्, मुकेशले तीन लाख मात्रै दिए रे ।

घुरन : जति दिए पनि कसकहाँ पुग्यो त्यो पैसा ?

जीवछ : मुरारीले नै लिएका छन् ।

घुरन : हो, त्यो पनि मुरारीले नै लिएका छन् । देवरामको पनि मुरारीले लिएका छन् । सप्तरीवाला आएको छ उहाँ (गाउँपालिका अध्यक्ष) कहाँ, अनि प्रभात ठाकुरवाला जुन फिर्ता गर्यौं, त्यो आएको थियो । मिलाएर कति भयो ?

जीवछ : प्रभात ठाकुरवाला मुखिया (गाउँपालिका अध्यक्ष) कि मुखियाइन (अध्यक्षकी श्रीमती) कहाँ गएको थियो नि ?

घुरन : हो ।

जीवछ : अनि देवरामले पाँच लाख नै दिएका छन् ।

घुरन : यो कसलाई दियो ?

जीवछ : मुरारीलाई नै दिएका छन् ।

घुरन : सबै मुरारीकहाँ नै गइसक्यो भने यता के बच्यो ?

जीवछ : मुरारीले हिसाब किताब दिन्छन् ।

घुरन : दिन्छन् नि ?

जीवछ : हिसाब नदिएर हुन्छ त ?

घुरन : अनि मैले जुन एक जना उम्मेदवारसँग पैसा लिएको छु । उसको काम भएन । अब मैले फिर्ता गर्नुपर्छ । तर, मैले अध्यक्षजीकै काममा तीन भाग लगाएर त्यो पैसा दिइसकेको छु । अब त्यसको के हुन्छ ? आज मैले नेताइन (अध्यक्षकी श्रीमती) लाई पनि यो कुरा भनेको छु ।

यो संवादबाट उहाँहरुले अधिकांश रकम नगद नै लिएको प्रष्ट हुन्छ भने केही रकम बैंकमार्फत पनि लिएको पाइएको छ । प्राविधिकतर्फका उम्मेदवार दीपककुमार यादवसँग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले एनएमबी बैंकमार्फत १ लाख ५० हजार रुपैयाँ लिनुभएको हो । दीपकका बुवा उपेन्द्र यादवको नाममा सिरहाको सखुवानन्कारकट्टीस्थित एनएमबी बैंकको शाखामा रहेको खाताबाट समिति अध्यक्ष यादवले २०८१ माघ २३ मा चेकमार्फत उक्त रकम बुझेको बैंक स्टेटमेन्टनै कान्तिपुरले प्राप्त गरेको छ । तर, थप रकम नदिएका कारण उनको काम भने भएन ।

दीपककुमार यादवको अडियोमा भनिएको छ- 'यो बुबाले रामचन्द्रलाई दिनुभएको थियो । भोजभतेर खुवाउनुपर्छ भनेर मागेपछि हामीले डेढ लाख रुपैयाँ दिएका थियौं । उनीहरुले नगद नै मागेका थिए । तर, मैले नगद दिन्न, यो त भइहाल्यो घुसजस्तो, चेक लिनुहुन्छ भने लिनुस् भनेपछि चेक नै लिए । मेरो योग्यता पुग्छ भने मैले बढी पैसा किन तिर्नु ? उहाँहरुले पछि थप पैसा माग्नुभयो । तर, म त्यसमा तयार भइनँ, साइड भएँ ।'

यसरी पैसा बुझाउने उम्मेदवारहरुलाई परीक्षा अगावै प्रश्नपत्र मात्र होइन, उत्तरसमेत उपलब्ध गराइएको प्रमाणहरु पनि भेटिएका छन् । शिक्षक कर्मचारी छनोटका बेला प्रधानाध्यापक शर्मासँगै काम गरेका सरकारी शिक्षकसमेत रहेका रामसुफल यादवले प्रश्नपत्र र उत्तरसमेत उम्मेदवारहरुको ह्वाट्सएपमा पठाउनुभएको स्क्रिनसट कान्तिपुरले फेला पारेको छ ।

विद्यालयका अनुसार, प्राविधिक धारतर्फको परीक्षा पहिलोपल्ट २०८१ फागुन २६ गते दिउँसो ३ बजेदेखि ६ बजेसम्म सञ्चालन भएको थियो । तर, रामसुफलले परीक्षा हुनुभन्दा १४ घण्टा अगाडि नै मार्च १० अर्थात् फागुन २६ गते बिहान १ बजेर १३ मिनेटमा पैसा बुझाएका उम्मेदवारको ह्वाट्सएपमा प्रश्नपत्र र उत्तरसमेत चिन्ह लगाएर पठाउनुभएको छ ।

तर, गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत, विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक र शिक्षा विकास तथा समन्वय इकाइबीच पैसा बाँडफाँटको विषयमा कुरा नमिलेपछि तथा पैसा बुझाएर पनि छनोटमा पर्न नसकेका केही उम्मेदवारहरु पैसा फिर्ता माग्न थालेपछि यसको रहस्योद्घाटन भएको हो । श्रोतका अनुसार, विद्यालयमा १२ जना शिक्षक कर्मचारी भर्ना गरिए पनि १५ जनासँग पैसा उठाइएको थियो ।

यसबारे नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवलाई सोध्दा उहाँ भन्नुहुन्छ,'विद्यालय व्यवस्थापन समितिले लिएको छ र फेला परेको हो भने त्यो उहाँहरुले नै बोल्ने हो, मेरो म्याटर होइन । के हो तपाईं अनुसन्धान गर्नोस्, छानबिन गर्नोस्, यो अनुसन्धानको पाटो हो ।'

विद्यालयले गत २०८१ असार १६ मै सूचना जारी गर्दै प्राविधिक धारतर्फ विभिन्न पदमा ९ जना शिक्षक कर्मचारी माग गरेको थियो । तर, उम्मेदवारको आवेदन पर्दासमेत प्रक्रिया अगाडि नबढाएको यो विद्यालयले २०८१ चैत ५ मा फेरि तीन जना शिक्षक माग गर्दै अर्को सूचना निकाल्यो । जसमा कुल १ सय ४१ जनाले आवेदन दिएका थिए ।

उम्मेदवारहरुलाई प्रथम पत्र र दोश्रो पत्र गरी दुई वटा परीक्षा दिन लगाइएको थियो । विद्यालयका अनुसार, प्राविधिक तर्फका उम्मेदवारहरुसँग फागुन २६, २७ र चैत २ मा गरी तीन दिन परीक्षा लिइएको थियो भने उच्च माध्यमिकका लागि उम्मेदवारसँग चैत २९ मै दुवै पत्रको परीक्षा लिइएको थियो । १२ वटै पदको अन्तिम नतिजा भने वैशाख २६ मा सार्वजनिक गरिएको थियो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।