काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानको गुजरात टाइटन्सले प्रतियोगिताबाट बाहिरिइसकेको चेन्नई सुपर किङ्ग्ससँग आज प्रतिस्पर्धा गर्दैछ ।गुजरातको घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने चारबाट सुरु हुनेछ ।
गुजरातका लागि शीर्ष दुईमा स्थान बनाउने हो भने यो खेल जित्नुको विकल्प छैन । अघिल्लो खेलमा लखनऊ सुपर जायन्टससँग पराजित भएपछि गुजरात दबाबमा आएको हो । यो खेल जिते टेस्ट टिमका नयाँ कप्तान शुभमन गिलको टिम १४ खेलबाट २० अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा छ । पराजित भए एलिमिनेटर खेल्नुपर्ने हुन सक्छ ।
जित्नै पर्ने खेल भएकाले गुजरातले आफ्ना तीव्र गतिका बलरलाई आराम दिने सुविधा पाएको छैन । यो सिजन खराब फर्मबाट गुज्रिएका राशीद खानलाई आत्मविश्वास प्राप्त चेन्नईविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ । साइ किशोर आफ्नो पूर्वक्लबविरुद्ध उत्रँदैछन् । उनले तीन सिजन चेन्नईको बेन्चमा बिताएका थिए । गुजरात यो पटक प्ले अफ पुग्ने पहिलो टिम बन्दा उनी १३ खेलमा १६ विकेट जित्ने मुख्य बलरका रूपमा छन् ।
चेन्नई भने आज प्रतिष्ठाका लागि खेल्दैछ । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई आईपीएल इतिहासमा पहिलो पटक तालिकाको पुछारमा रहने स्थितिमा छ । जित हात पार्दै सिजन टुंग्याउने उसको योजना छ । चेन्नईले १३ खेल खेल्दा मात्र ६ अंक जोडेको छ ।
आजै हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । गत सिजनको च्याम्पियन कोलकाता र उपविजेता हैदराबाद यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । सनराइजर्स पछिल्ला पाँच खेलमा कोलकाताविरुद्धको जितविहीन यात्रामा पूर्णविराम लगाउन चाहन्छ । यो खेल दिल्लीमा साँझ पौने ८ बजे सुरु हुनेछ ।