के प्रधानमन्त्री ओली एमाले कार्यकर्तालाई भिडन्तमा उतार्न चाहनुहुन्छ ?

जेष्ठ ११, २०८२ |डीपी उपाध्याय
के प्रधानमन्त्री ओली एमाले कार्यकर्तालाई भिडन्तमा उतार्न चाहनुहुन्छ ?

काठमाडौं । नेकपा एमालेले आयोजना गरेको वडास्तरीय प्रशिक्षण कार्यक्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, 'जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ, पार्टीले दिने निर्देशनका लागि तयार रहनुस् ।' 

के प्रधानमन्त्री ओली एमाले कार्यकर्तालाई भिडन्तमा उतार्न चाहनुहुन्छ ? के उहाँलाई सरकारी सुरक्षा प्रशासनमाथि विश्वास छैन ? नभए किन उहाँ काठमाडौं कब्जा गर्ने उर्दी जारी गरिरहनु भएको छ ? यस्तो भड्काउ अभिव्यक्ति किन दिइरहनु भएको छ ? उहाँले किन भुलिरहनुभएको छ कि संविधानले जति धेरै अधिकार प्रधानमन्त्रीलाई दिएको छ त्यति नै संविधान र कानुनप्रति उत्तरदायी पनि बनाएको छ ?

'जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको कब्जामा हुनुपर्छ,' भन्ने प्रधानमन्त्री ओलीज्यू, तपाईं नै भनिदनुस् एमाले बाहेकका अरु नागरिक १५ गते ११ बजेदेखि २ बजेसम्म कहाँ जाने ?

देशको प्रधानमन्त्रीले मिति, समय, ठाँउ तोकेर देशको राजधानी कब्जा गर्ने कुरा गैरसंवैधानिक मात्र छैन । अलोकतान्त्रिक र सभ्य समाजको विपरीत छ ।

१५ गते अरु राजनीतिक दलका के कार्यक्रम छन् त्यो फरक कुरा हो । तर,संविधानमा तोकिएअुसार देशको बजेट आउने दिन त्यही हो । यदि, १५ गते प्रधानमन्त्रीले तोकेको समयसम्म काठमाडौं एमालेको कब्जामा हुने भए सांसदहरू सदनमा आउन पाउँछन् कि पाउँदैन् ? गणतन्त्र दिवसमा नागरिकले खुशियाली मनाउन पाउँछन् कि पाउँदैनन् ? अनि त्यो दिन सहरमा आम नागरिकले हिडँडुल गर्न एमाले पार्टी कार्यलयबाट पास वा अनुमति लिनुपर्ने हो कि ?

देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुपर्ने अवस्था चाँहि किन आयो ? यदि, कुनै राजनीतिक दलले सडक प्रदर्शन गर्ने भनेकै भरमा यस्तो भन्नु भएको हो भने के प्रधानमन्त्रीलाई राज्य संयन्त्रमाथि विश्वास छैन ? प्रहरी प्रशासनले शान्ति सुरक्षा दिन सक्दैन ?

अर्को गम्भीर कुरा, जीवनभर लोकतन्त्रका लागि लडेको, जेल-नेल बसेको भनिरहने अनि अरुले सडक प्रदर्शन गर्ने भनेपछि प्रधानमन्त्रीले आफ्ना कार्यकार्तालाई सहर कब्जा गर्न भड्काउने ?

प्रधानमन्त्रीले भने जस्तै कार्यकर्ता भिडन्तमा उत्रिए र केही दुर्घटना भइहाल्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ ?

प्रधानमन्त्रीलाई देशको संविधानले शासन प्रशासन चलाउने जिम्मेवारी दिएको हो, प्रधानमन्त्री ओलीले समाज भड्काउने वा दलले सहर कब्जा गर्ने कुरा संविधानको कुन धारामा टेकेर बोलिरहनु भएको छ ?

सहर कब्जा गर्ने अभिव्यक्तिपछि पनि प्रधानमन्त्री फेरि भन्दै हुनुहुन्छ, 'पार्टीले फेरि अर्को निर्देशन दिनेछ । एमालेलेलाई कसले छेक्छ ? तपाईंहरु तयारी अवस्थामा बस्नुस् ?'

प्रधानमन्त्रीज्यू तपाईंका कार्यकर्ता केको तयारीमा बस्नु पर्ने हो ? तपाईले नै यति भड्काउ अभिव्यक्ति दिइसकेपछि अब के निर्देशक आउन बाँकी रह्यो ? प्रधानमन्त्रीको अभिव्यक्तिलाई एक वाक्यमा भन्दा : सरकारमा बसेर मच्चाउने अराजकता हो, विधिको शासन र लोकतन्त्रविरुद्धको उर्दी हो ।


Image

डीपी उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको जिल्ला ब्युरोमा कार्यरत छन् ।