काठमाडौं । बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगितामा सूर्यविनायक नगरपालिकाले उपाधि हात पारेकाे छ । नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ।
प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्यसहित सात पदक जित्दै दोस्रो स्थान हासिल गर्यो भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्य सहित तेस्रो स्थानमा रह्याे ।
पुरूष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिलातर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी भएको सितोरियो करातेका प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिनुभयो ।
प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराते सङ्घको आयोजनामा र सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा भक्तपुरमा जेठ ९ र १० गते सम्पन्न भएको हो।
विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र विजेता टिमलाई ट्रफिले सम्मान गरिएको थियो । मेडल र ट्रफी वितरण गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले खेलको विकास गर्न सके मात्र समुन्नत नगर विकास गर्न सकिने बताउनुभएको थियो ।
उहाँले अबको विश्व विजय भनेको केबल हाम्रा खेलाडीले गर्न सक्ने बताउँदै यसका लागि सबैले खेल क्षेत्रको विकासमा जोड दिनु पर्ने उहाँको जोड थियो । कार्यक्रममा कराते खेलको विकासमा विशेष योगदान पुर्याउने खेल प्रशिक्षक, व्यवस्थापक, तथा सङ्घ प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।