काठमाडौं । लुका मोड्रिच र प्रशिक्षक कार्लो एन्सेलोटीको बिदाई खेलमा रियाल मड्रिडले ला लिगामा रियाल सोसिडाडमाथि २-० गोलको जित हात पारेको छ । जित सहित रियालको सिजन टुगिदा मोड्रिच र एन्सेलोटीको घरेलु मैदानमा अन्तिम खेलले सान्टियागो बर्नाबेउ भावुक बन्यो ।
७३ हजार बढी समर्थक बीच भएको खेलमा रियालले ३८औं मिनेटमा अग्रता लिएको थियो । उसका लागी फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले गोल गरेका हुन् । एम्बाप्पे पेनाल्टीमा चुकेका थिए । तर रिबाउन्डमा उनले गोल गरेपछि रियाल १-०ले अघि रह्यो ।
८३औं मिनेटमा एम्बाप्पेलेनै भिनिसियस जुनियरको सहयोगमा गोल गरेपछि रियालले सहज जित हात पारेको हो । एम्बाप्पेको यो सिजनमा लिगमा ३१औं गोल हो । यसअघिनै ला लिगाको उपाधि भने बार्सीलोनाले जितिसकेको थियो ।
रियाल दोस्रो स्थानमा रह्यो । रियालले मिडफिल्डर मोड्रिच र एन्सेलोटीलाई जितका साथ विदाइ गरेको छ । क्रोएशियन मिडफिल्डर मेाड्रिच क्लबका सफल खेलाडी हुन् ।
सन २०१२ मा टोटेनहम बाट रियाल आएका उनले क्लबका लागि ५ सय ९१ खेल खेले । १३ वर्ष बर्नाबउमा रहँदा उनले ६ च्याम्पिपयन्स लिग सहित ३० उपाधि जिते । ३९ वर्षीय मोड्रिचका लागि घरेलु समर्थकबीच खेल खेल्ने यो अन्तिम अवसर थियो ।
विश्व फुटवलको उत्कृष्ट मिडफिल्डर मध्येका एक उनले क्लब विश्वकप पछि रियाल छोड्ने घोषणा गरेका थिए । क्लब विश्वकप अमेरिकामा हुनेछ । मोड्रिच अन्तिम समयमा मैदान बाहिरिँदा समर्थकले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।
यस्तै एन्सेलोटीले आफ्नो दुई कार्यकालमा १५ उपाधि क्लबलाई दिलाए । जसमा तीन च्याम्पियन्स लिग, दुई क्लब विश्वकप , तीन युरोपियन सुपर कप र दुई ला लिगा उपाधी समावेश छ । मोड्रिचलाई दुवै टिमका खेलाडीले गार्ड अफ अनर प्रदान गरेका थिए ।