आर्सनललाई १८ वर्षपछि पहिलो पटक महिला च्याम्पियन्स लिगको उपाधि

जेष्ठ ११, २०८२ |खेल ब्युरो
आर्सनललाई १८ वर्षपछि पहिलो पटक महिला च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । आर्सनलले १८ वर्षपछि पहिलो पटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । फाइनलमा आर्सनलले युरोपियन जायन्ट बार्सीलोनालाई १-० गोलले स्तब्ध पारेको हो ।

लिस्वनमा गएराती भएको खेलमा आर्सनल अन्डर डग टिमका रूपमा मैदान उत्रिएको थियो । पछिल्लो समय युरोपियन फुटबलमा राज गरिरहेको बार्सीलोनाको सुरूवाती एघारमा बलुन दो विजेता आइटाना बोनमी एलेक्सिया पुटेयस समावेश थिए । 

साविक विजेता बार्सीलोनाले २०औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेको थियो । तर, इरेना पारेदेसले गरेको गोल अफसाइड भएपछि स्पेनिस क्लबले राहतको श्वास फेर्यो । 

२७औं मिनेटमा फ्रिदा मानमको प्रहार बार्सीलोना गोलकिपर क्याटा कोइलले बचाइन् । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ४९औं मिनेटमा बार्सीलोनाले गोलको सुनौलो अवसर पायो । 

क्लाउडिया पिनाको प्रहार क्रस बारमा लागेर फर्कियो । आइटानाले गरेको प्रहार आर्सनल गोलपिकरले सफल हुन दिइनन् । ६०औं मिनेटमा आइटानाको अर्को प्रयास खेर जादा बार्सीलोना निराश बनेको थियो । 

७२औं मिनेटमा आर्सनलले पनि पाएको मौकाको सदुपयोग गर्न सकेन् । अन्तत ७४औं मिनेटमा आर्सनलले डेडलक तोड्यो । उसका लागि सब्सिच्युट स्टिना ब्ल्याक स्टेनियसले गोल गरेकी हुन् । 

स्टिनालाई सब्सिच्युट खेलाडीकै रूपमा मैदान प्रवेश गरेकी बेथ मिडले उत्कृष्ट पास दिएकी थिइन् । यहि गोल आर्सनललाइ सन २००७ पछि च्याम्पियन्स लिग जित्न निर्णायक बन्यो । आर्सनल छनौट खेल बाट आएको हो । 

उपाधि जित्दा सम्म उसले कुल १५ खेल खेल्यो । आर्सनलको यो दोस्रो च्याम्पियन्स लिग उपाधि हो । बार्सीलोना भने पछिल्लो चार सिजनमा तीन पटक विजेता बनेको थियो ।