काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग-आईपीएलमा पञ्जाब किंग्स माथि ६ विकेटको जित हात पारेको छ । दिल्लीले सिजनको सुखद अन्त्य गर्दा शीर्ष दुईको लक्ष्यमा रहेको पञ्जाबलाई भने धक्का लाग्यो ।
दिल्लीको जितमा समिर रिज्भीले आक्रमक ब्याटिङ गर्दै आइपिएलमा आफ्नो पहिलो अर्धशतक प्रहार गरे ।
भारत र पाकिस्तानको सिमा विवादका कारण गत मार्च आठमा रोकिएको यो खेल पुन: गरिएको हो । धर्मशालामा पञ्जाबले दश ओभर एक बलमा एक विकेट गुमाएर एक सय २२ रन बनाएको थियो ।
धर्मशालामा त्यसपछि खेल हुन सकेन र आईपीएलमा एक साता ब्रेक भयो । जयपुर स्थित सवाइ मान सिंह स्टेडियममा टस जितेर ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो ।
ओपनर प्रियान्स आर्या ६ रनमै मुस्तफिजुर रहमानको बलमा आउट भए । जस इंग्लिस ३२ र अर्का ओपनर प्रभसिमरन सिह २८ रनमा मैदान बाहिरिए । दुवैको विकेट विपराज निगमले लिएका हुन् ।
नेहाल वाधिरा १६ र शसांक सिंह ११ रनमा आउट भए । कप्तान श्रेयस ऐअरले ५३ र मार्कस स्टोनिसले १६ बलमा अविजीत ४४ रन बनाएपछि पञ्जाबले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।
मुस्ताफिजुरले तीन, विपराज र कुलपिद यादवले दुई-दुई विकेट लिए । जवाफमा दिल्लीले तीन वल बाँकी रहँदा चार विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । के एल राहुल र कप्तान फाप डु प्लेसी बीच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भएको थियो ।
राहुलले ३५ र डु प्लेसीले २३ रन बनाए । आईपीएलमा डेब्यु गरेका सेदीकुल्लाह अटलले २२ रन बनाए । करूण नायरले ४४ रनको योगदान गरे । दिल्लीलाई अन्तिम ४६ बलमा जीतका लागि ९१ रन आवश्यक थियो ।
रिज्भीले पञ्जाबका कुनै पनि बलरलाई सफल हुन दिएनन् । २१ वर्षीय रिज्भीले २५ वलमा अविजीत ५८ रनको योगदान गरे । ट्रिस्टन स्टब्सले १८ रन जोड्दै उनलाई साथ दिए ।
हरप्रित ब्रारले दुइ विकेट लिए । यो भन्दा अघि दिल्लीले २२ खेलमा मात्र दुई पटक दुई सय माथिको रन चेज गरेको थियो । दिल्लीले १४ खेलमा १५ अङ्क जोड्यो । यो नतिजा पछि पहिलो क्वालिफायर खेल्ने टिमको टुंगो लाग्न अझै समय लाग्नेछ ।
पञ्जाब १३ खेलबाट १७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको गुजरात टायटन्सको १८ अंक छ । तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैङलुरूको १७ र चौथो स्थानको मुम्बइ इन्डियन्सको १६ अंक छ । चारै टिमको शीर्ष दुई पुग्ने संभावना छ ।
आईपीएलमा आज दिउँसो पौने तीन बजे गुजरात र चेन्नाइ तथा साँझ पौने ८ बजे कोलकाता र सनराइजर्सबीच खेल हुनेछ ।