काठमाडौं । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् ।
निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको बताए । नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र १० वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने, कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्ने लगायतका मागहरू कर्मचारीले अघि सारेका छन् ।
कार्यवाहक अध्यक्ष कटुवालले मेचीको मान्छे दार्चुला गएर काम गर्ने बाध्यता रहेको उल्लेख गर्दै कर्मचारी घर जान पाउने कि नपाउने ? भन्दै प्रश्न गर्नुभयो । ट्रेड युनियन सञ्जालका ११ बुँदे मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “आज नेपाल निजामती कर्मचारी युनियनले ट्रेड युनियन सञ्जालका ११ बुँदे मागहरूको सम्बन्धमा एउटै मुद्दा बोकेर आजसम्म हिँडेको अवस्था छ । हाम्रा ११ बुँदे मागहरूमा हामीले कर्मचारीको वृत्ति विकासका कुराहरू गरेका छौं । त्यसमा हामीले भनेका छौं पाँच वर्षमा एक तह र र १० वर्ष नाघेकालाई एक श्रेणी बढुवा गर्ने कुरा राखेका छौं ।”
करार कर्मचारीहरूले रित्तो हात घर फर्कन नपर्नेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।