काठमाडौं । पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने भएको छ । काठमाडौंमा भएको दक्षिण एसियाली फुटबल महासंघ साफको कंग्रेस अन्तर्गत कार्यसमिति बैठकले साफ महिला क्लब च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिताबारे अन्तिम निर्णय हुन बाँकी छ । प्रतियोगिताको फर्म्याटबारे अन्तिम निर्णय नभए पनि प्रतियोगिता भने हुने निश्चित भएको साफका महासंघका महासचिव पुरुषोत्तम कट्टेलले बताए ।
साफले दक्षिण एसियाली फुटबलको स्तर बढाउन कम्तीमा ११ प्रतियोगिता प्रस्ताव गरेको छ । त्यसमा पुरुष र महिलाको फुटसलदेखि स्कुल प्रतियोगितासम्मको योजना रहेको छ । कंग्रेसमा दक्षिण एसियाका सात देशको सहभागिता रहेको थियो ।
यसै कंग्रेसमार्फत साफले आफ्नो इतिहासमै पहिलो महिला कार्यकारी सदस्य नियुक्त गरेको छ । भुटान फुटबल महासंघकी जिम्बिरी निर्विरोध निर्वाचित भएकी हुन् ।
महासंघको गतिविधिलाई थप पारदर्शी बनाउने प्रयासस्वरूप यस पटक सम्पूर्ण कंग्रेस अवधिभर सञ्चारकर्मीहरूको उपस्थिति सुनिश्चित गरिएको थियो ।
यस्तै महासचिवको प्रतिवेदन स्वीकृति गरिएको छ भने २०२४ को वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन तथा बजेट समेत स्वीकृति गरिएको छ । कंग्रेसले समग्रमा १० वटा निर्णय गरेको छ ।