फिफाको कारबाही भोगेकालाई एन्फामा कुनै स्थान छैन : नेम्वाङ

जेष्ठ १०, २०८२ |खेल ब्युरो
फिफाको कारबाही भोगेकालाई एन्फामा कुनै स्थान छैन : नेम्वाङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले फिफाको कारबाही भोगिसकेका पूर्वपदाधिकारीलाई एन्फामा कुनै स्थान नरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वअध्यक्ष गणेश थापालाई लक्षित गर्दै एन्फाको विरोध गर्नेलाई नेपाली फुटबलमा ठाउँ नभएको बताएका हुन् ।

फिफाको प्रतिबन्ध समाप्त भएपछि एन्फा नेतृत्व र पूर्वअध्यक्ष गणेश थापाबीच तिक्तता बढिरहेको छ । एन्फाको साधारण सभामा प्रवेश नदिएपछि थापाले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको कार्यशैलीप्रति प्रश्न गर्दै आइरहेका छन् । आज एन्फा अध्यक्ष नेम्वाङले थापालाई २० वर्ष एन्फाको माध्यमबाट घर चलाएको आरोप लगाए ।

सन् २०१५ देखि फिफाको १० वर्षे प्रतिबन्धमा परेका थापामाथिको प्रतिबन्ध हालै समाप्त भएको थियो । त्यसपछि उनले नेपाली फुटबलमा आउने प्रयास गरिरहेका छन् । एन्फाको साधारण सभामा उपस्थिति हुन नपाएपछि उनले गेटमै नेतृत्वको विरोध गरेर नाराबाजी गरेका थिए ।