अन्डर सिक्स्टिन लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रूपन्देहीकाे विजयी सुरूवात

जेष्ठ १०, २०८२ |खेल ब्युरो
अन्डर सिक्स्टिन लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रूपन्देहीकाे विजयी सुरूवात

भैरहवा । भैरहवामा हिजोदेखि सुरू भएको अन्डर सिक्स्टिन लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रूपन्देहीले विजयी सुरूवात गरेको छ । रूपन्देहीले नवलपरासी जिल्लालाई दुई सय ७१ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको रूपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३ ओभर तीन बलमा अलआउट हुँदै तीन सय १६ रन बनायो । 

उसका लागि समीर अली मुसलमानले शतकीय पारी खेले । उनले ७० बलमा १७ चौका र एक छक्काको मद्दतमा एक सय १८ रन बनाए । यस्तै, सिद्धार्थ ढकालले ५५, आरिफ खानले ४३, रोजन कुमालले ३८, लक्ष्मण कुमालले अविजित १८ र सुजन रानाभाटले १४ रन बनाए । 

जवाफी ब्याटिङ गरेको नवलपरासी १६ ओभरमा अलआउट हुँदै जम्मा ४५ रनमै समेटियो । उसका लागि प्रेमसागर यादवले १३ र आरोनजंग गिरीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । 

राष्ट्रिय अन्डर सिक्टिन क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा रूपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन । 

जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा भइरहेका छन ।