जुम्लामा असिनापानीले अन्न बाली र फलफूल सखाप, भोकमरीमा पर्ने किसानको चिन्ता

क्षतिको अनुगमन गरी राहत दिन माग
जेष्ठ १०, २०८२ |डीबी बुढा
जुम्लामा असिनापानीले अन्न बाली र फलफूल सखाप, भोकमरीमा पर्ने किसानको चिन्ता

जुम्ला । जुम्लाको तिला गाउँपालिका-९ मा झण्डै आधा फिट असिना परेको छ । हावाहुरीसहित परेको असिनापानीले बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ ।

शुक्रबार अपरान्ह एक घण्टासम्म निरन्तर असिना परेको थियो । स्थानीयकाअनुसार असिनाले भित्र्याउन आँटेको जौ र गहुँ बाली सखाप पारेकोछ । त्यस्तै सिमी,आलु, मकै, फापर लगायतको बाली पनि नष्ट भएको छ ।

असिना पानीले स्याउ,आरू,ओखरलगायतका फलफूलमा समेत ठूलो क्षति भएको छ । असिनाले सबै अन्नबाली सखाप पारेपछि किसान भोकमरीमा पर्ने चिन्तामा छन । 

यसैबीच असिनाले सबै बाली नष्ट गरेपछि आज गाउँमा भेला बोलाइएर अनुगमनको लागि प्रहरीचौकी, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने निर्णय भएको छ । 

९ नम्बर वडाका साकामा १ सय १० र मालापानी गाउँमा ६८ घरधुरी छन । वडाध्यक्ष धनबहादुर रावतले असिनाले क्षति पुर्‍याएका गाउँमा तत्कालै अनुगमन गर्ने बताउनुभएको छ । यसअघि तारासी, चन्दननाथ, गुठिचौर, तातोपानी र सिजा क्षेत्रमा असिना परेर बालीनालीमा क्षति पुर्‍याएको थियो ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।