काठमाडौं । थाइल्यान्डसँगको दुई खेलका लागि नेपाली महिला फुटबलको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले आज २३ खेलाडीको टिम निर्धारण गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको हो ।
नेपाली टिमको गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर र उषा नाथ रहेका छन् । त्यसैगरी, रक्षापङक्तिमा अमृता जैशी, गीता राना, विमला विके, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई छन् । अनुभवी खेलाडी अनिता बस्नेत र रेणुका नगरकोटीसँग नेपाली टिमको मिडफिल्ड सम्हाल्ने जिम्मेवारी विमला चौधरी, प्रिती राई, सरु लिम्बू, सविता राना मगर, सरस्वती हमाल र सुषमा तामाङको रहनेछ ।
फरवार्डहरूमा विदेशमा खेलिरहेका सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् । नेपालले यही जेठ १६ र १९ गते बैंककमा दुई खेल खेल्ने तालिका छ । पहिलो खेल अभ्यासको रूपमा रहनेछ भने दोस्रो खेलले फिफा मैत्रीपूर्णको मान्यता पाएको छ ।
एएफसी एसियन कप छनोटको तयारीको लागि नेपालले यी दुई खेल खेल्न लागेको हो । छनोट खेल आगामी असार १५ गते सुरु हुनेछ। नेपालले मैत्रीपूर्ण खेलको लागि अन्तिम तयारी गरिरहेको छ।