काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ को ६५औँ खेलमा गएराति रोयल च्यालेन्जर्स बैंगलुरू सनराइजर्स हैदराबादसँग ४२ रनले पराजित भएको छ।
हैदराबादले दिएको दुई सय ३२ रनको लक्ष्य पछ्याएको बैंगलुरू एक सय ८९ रनमै समेटिएपछि हैदराबादले आफ्नो १३औं खेलमा जित हाासिल गरेको हो।
लखनऊको इकाना रंगशालामा बैंगलुरूले टस जितेर पहिले फिल्डिङ रोजेपछि हैदराबादले पहिले ब्याटिङ गरेको थियो। उसले २० ओभर खेल्दै ६ विकेट गुमाएर दुई सय ३१ रनको योगदान गर्न सक्यो।
सदाझैँ हैदराबादका लागि अभिषेक शर्मा र ट्रेभिष हेड ओपनिङमा आए। चौथो ओभरको अन्तिम बलमा अभिषेकलाई लुङ्डी एनगेदीले आउट गराएका थिए। त्यतिबेला अभिषेकले ३४ रन बनाएका थिए।
त्यसैगरी, ट्रेभिस हेडले पनि १७ रन मात्रै जोड्न सके। दुई विकेट गुमाउँदा हैदराबादले ५४ रन बनाएको थियो। हेनरिक क्लासेन २४ रन बनाएर आउट भएका छन। तर इशान किसनले भने ९४ रनको अविजित पारी खेले।
उनले ४८ बलमा १२ बाउन्ड्री प्रहार गरेर ९४ रन बनाएका हुन्। त्यसैगरी, अनिकेत बर्माले २६ रनको योगदान गरे भने त्यसपछिका ब्याटरले भने लामो पारी खेल्न सकेनन्। अन्तिममा कप्तान प्याट कमिन्स १३ रनमा अविजित रहे।
बैंगलुरूका बलरहरूमध्ये रोमारियो शेर्फडले मात्रै किफायती बलिङ गर्दै २ विकेट लिए। भुवनेश्वर कुमार, लुङ्गी एनगेडी, सुयास शर्मा र क्रुणल पाण्ड्याले १-१ विकेट बाँडेका थिए।
बैंगलुरूका ओपनरबाहेक अन्य खेलाडीले लामो साझेदारी नै बनाउन सकेनन्। एक बल बाँकी रहँदै सबै विकेट गुमाएको बैंगलुरूले एक सय ८९ रन मात्रै बनाउन सक्यो। गएरातिको जितसँगै हैदारबादले ११ अंक बनाए पनि ऊ प्ले अफ दौडबाट पहिल्यै बाहिरिसकेको छ। अब आईपीएलमा पञ्जाब किंग्सको मात्रै दुई खेल बाँकी छ। आईपीएलमा आज साँझ पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ।