काठमाडौं । गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताउनुभएको छ । शनिबार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उहाँले कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र लागिपर्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले मधेश प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मधेश प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौं । मधेश प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ । साथीहरूले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौं । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं ।”
उहाँले अहिले आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरूबीचको संयुक्त सरकार बनाउन केही जटिलताहरू रहेको बताउनुभयो । “हामी अहिले संयुक्त सरकारमा छौं । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिस्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रूपमा सञ्चालन गर्ने कुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन् । त्यसलाई तपाईंहरूले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौं । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौं ।”
उहाँले पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको पनि बताउनुभयो ।