इन्डो-नेपाल सीएसआर समिट काठमाडौंमा सम्पन्न

जेष्ठ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
इन्डो-नेपाल सीएसआर समिट काठमाडौंमा सम्पन्न

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क्षेत्रलाई मजबुत बनाउन र नेपाल–भारतबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिफक्याप नेपालको आयोजना तथा 'जी' फाउन्डेशनको सहकार्यमा इन्डो-नेपाल सीएसआर समिट काठमाडौंमा सम्पन्न भएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआरका रकमहरू खर्च गर्ने सन्दर्भमा त्यति धेरै प्रभावकारी नभइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सीएसआरको पोलिसी बनाउन बहसहरू गरिरहेका छौं । यसमा कर्पोरेट कमुनिटिजले पनि बहस गर्न जरुरी छ । सीएसआर भनेको पैसा मात्रै होइन । यो व्यवसायको कर्तव्य र समाजसेवा पनि हो ।”

यस्तै कार्यक्रमका विशिष्ट वक्ता नेपाल-इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआर जस्तो महत्त्पूर्ण छलफल भएको पाउँदा खुशी भएको व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सूर्य नेपाल र अन्य नेपालका ठूला कर्पोरेटहरूले सीएसआरमा कुनै न कुनै किसिमको सहकार्य गर्दा दिगो विकासमा टेवा पुग्ने देखिएको छ ।”

कार्यक्रममा विफक्याप नेपालका सीईओ मनोज रेग्मीले सीएसआर समिटबाट प्राप्त रकमले पूर्व नेपालका ३ वटा जिल्ला भोजपुर, सोलुखुम्बु र खोटाङका ४०० जना उद्यमीहरूलाई वित्तीय साक्षरता पनि दिइने जानकारी दिनुभयो । यस्तै आगामी वर्ष एसिया सीएसआर समिट पनि गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालका सांसदहरू, मन्त्रालयका उच्च पदस्थहरू, भारत र नेपालका वरिष्ठ सीएसआर विशेषज्ञहरू तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू साथै निजी क्षेत्रका प्रतिनिधहरूको समेत उपस्थिति थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.