सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडक खण्डमा शनिबार दिउँसो भएकाे दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको इँटा लोड गरेको स१त ५४४२ नम्बरको ट्र्याक्टरमा विपरीत दिशाबाट आउँदै गरेको मप्र-०२-०१९प ९६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार रहेका तीन जना युवकमध्ये २२ र २६ वर्षीय युवकको मृत्यु भएको छ भने २० वर्षीय एक युवकको चिन्ताजनक अवस्थामा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।
मृतक दुवै युवककाे शव पाेस्टमोर्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ भने उनीहरू तीनै जनाको पहिचान गर्ने काम भइरहेकाे प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।
यता दुर्घटनाग्रस्त ट्र्याक्टर र माेटरसाइकल प्रहरी चाैकी पत्थरगाडाकाे नियन्त्रणमा छ भने फरार रहेको ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।