तीन महिनासम्म चलेको ‘बी’ डिभिजन लिग सकियो, प्रतापसिंह राई सर्वोत्कृष्ट खेलाडी

विजेता प्लानिङ बोइजद्वारा आफ्नो अन्तिम खेलमा टुसाल ८-३ ले पराजित
जेष्ठ ९, २०८२ |खेल ब्युरो
तीन महिनासम्म चलेको ‘बी’ डिभिजन लिग सकियो, प्रतापसिंह राई सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको आफ्नो अन्तिम खेलमा लिग विजेता प्लानिङ बोइज क्लबले लिगकै सबैभन्दा धेरै ८ गोल गरेर जित हासिल गरेको छ । एक खेलअगावै विजेता बनेको प्लानिङ बोइजले अन्तिम खेलमा रेलिगेसनमा परेको टुसाल क्लबलाई ८-३ ले हराएको हो । 

फागुराम थारूले व्यक्तिगत पाँच गोल गरेपछि प्लानिङले फराकिले जित हात पारेको हो । यो लिगभरि सबैभन्दा धेरै गोल भएको खेल पनि यहो रह्यो । जहाँ दुवै टिमले ११ गोल गरे । यसअघि बोइज युनियन क्लबले श्रीकुमारी क्लबलाई ५-३ ले हराएको थियो । त्यसैगरी सरस्वती क्लब आरसीटीसँग ४-३ ले हार्दा ७ गोल भएको थियो ।

यसअघि प्लानिङले नै नयाँ बस्तीलाई पाँच गोलको फराकिलो अन्तरले हराएको थियो । उसले लिगभरि ३२ गोल गर्‍यो । 

आज दशरथ रंगशालामा फागुरामले खेलको ११ औं मिनेटमा प्लानिङलाई अग्रता दिलाएका थिए । टुसालका लागि सुजन माझीले २२ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याएपछि फागुरामले २४ औं मिनेटमा अर्को गोल गरे । उनले २९ औं मिनेटमा गोल गर्दै १८ मिनेटबीच ह्याट्रिक पूरा गरेका थिए । त्यसैगरी ३९ औं मिनेट र पहिलो हाफको इन्ज्युरी समयमा समेत गोल गरेर उनले पहिलो हाफमा नै प्लानिङलाई ५-१ को अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा प्लानिङका लागि रामबाबुकुमार साह, ओमप्रकाश चौधरी र प्रतापसिंह राईले गोल गरे । यता, प्रदीप सुनार र विनोद नेम्वाङले टुसालका लागि गोल फर्काएको भए पनि आफ्नो टिमलाई दबाबबाट बाहिर निकाल्न सकेनन् । आजको जितसँगै अपराजित रहेर प्लानिङले उपाधि जितेको छ । उसले १३ खेलबाट ३३ अंक बनायो । पराजित टुसालले ११ अंकमा लिग समाप्त गर्‍यो ।

यस्तै बी डिभिजन लिगमा आज भएको दोस्रो खेलमा सरस्वती क्लबले सुखद् अन्त्य गरेको छ । एक खेलअघि नै ए डिभजनमा बढुवा भएको श्री भगवती क्लबलाई ३-२ गोलले हराउँदै सरस्वतीले लिग समाप्त गरेको हो ।

पहिलो हाफमा सरस्वतीमाथि दबाब बनाएर श्री भगवतीले अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा विक्रान्त रानाले टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७३औं मिनेटमा सरस्वतीका नुर्बु तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, ७९औं मिनेटमा विक्रान्तले व्यक्तिगत दोस्रो गोल गर्दै फेरि भगवतीलाई अग्रता दिलाए । 

निर्धारित ९० मिनेटसम्म भगवतीले अग्रता लिए पनि सविन लुङ्गेली मगरले इन्ज्युरी समयमा गोल गर्दै सरस्वतीलाई खेलमा फर्काएका थिए । इन्ज्युरी समयमै नरेशकुमार खत्रीले गोल गरेपछि श्री भगवती पराजित हुन पुग्यो । जितसँगै १८ अंकसहित सरस्वतीले लिग समाप्त गर्‍यो । भगवतीले भने २६ अंक बनायो ।

यसैगरी प्लानिङ बोइज युनाइटेडका प्रतापसिंह राई बी डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भए । मिडफिल्डर राईले आफ्नो टिमलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । टिमको सिनियर खेलाडी राई सी डिभिजनबाट टिममा स‌ँगै छन् । प्रशिक्षकले २४ वर्षे राईलाई फरक फरक पोजिसनबाट खेल्ने गराउने थिए । उनी सबैजसो पोजिसनमा फिट खेलाडी हुन् । 

सर्वाधिक गोलकर्ता प्लानिङ बोइजका फागुराम थारू बने । उनले ५० हजार नगद पुरस्कार प्राप्त गरे । थारूले प्रतियोगिताभर १४ गोल गरेका थिए । प्लानिङ बोइज नै फेयर प्ले टिम समेत बन्यो । यसैगरी प्रमिजय गच्छदार उत्कृष्ट गोलकिपर बने । उनले प्रतियोगतामा १२ गोलको सामना गरेका थिए । लिगमा उनको टिम पाँचौं स्थानमा रह्यो । 

बी डिभिजन लिगको एक मात्र महिला प्रशिक्षक चन्द्रा भण्डारीलाई अखिल नेपाल फुटबल संघ एन्फाले विशेष सम्मान गरेको थियो । उनले बोइज युनियन टिम सम्हाल्ने जिम्मेवारी पाएकी थिइन् । यो संस्करणको बी डिभिजन लिगमा कुल ९० खेल आयोजना भएका थिए । लिग करिब तीन महिना सञ्चालन भएको थियो ।