ब्राजिलियन फरवार्ड राफिन्हा २०२८ सम्म बार्सामा रहने

जेष्ठ ९, २०८२ |खेल ब्युरो
ब्राजिलियन फरवार्ड राफिन्हा २०२८ सम्म बार्सामा रहने

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले स्पेनिस च्याम्पियन बार्सिलोनासँगको सम्झौता विस्तार गरेका छन । सम्झौता विस्तार गरेसँगै उनी अब २०२८ सम्म स्पेनिस क्लबमै रहने भएका छन ।

क्लबले विज्ञप्ति जारी गर्दै राफिन्हासँगको सम्झौता विस्तार गरिएको जनाएको हो । सन् २०२२ मा पाँच वर्षको सम्झौतामा बार्सिलोनामा आबद्ध भएका राफिन्हाको नयाँ सम्झौता एक वर्ष थप गरिएको हो ।

प्रशिक्षक हान्सी फलिकको प्रशिक्षणमा उनले यो सिजन उच्च प्रदर्शन गर्दै आफूलाई बार्सिलोनाको अपरिहार्य खेलाडीको रूपमा स्थापित गरेका छन । उनले ५६ खेलमा ३४ गोल र २५ असिस्ट गर्दै टोलीको आक्रमणमा महत्वपूर्ण भूमिका निभाएका छन । 

२८ वर्षीय राफिन्हाले यो सिजन बार्सिलोनाबाट ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधि जितेका छन । उनी सन् २०२२ मा इंग्लिस क्लब लिड्स युनाइटेडबाट बार्सिलोनामा आएका थिए । उनले प्रिमियर लिगमा दुई सिजनमा १७ गोल गरेका थिए ।

स्पेनमा सुरूवाती दुई सिजनमा उनले ला लिगामा जम्मा १३ गोल मात्र गर्न सकेका थिए । त्यसैले बार्सिलोनाले भोगिरहेको आर्थिक समस्याका कारण उनलाई बेच्ने सम्भावित निर्णय लिइएको थियो । तर, सन् २०२४-२५ को सिजनमा उनले शानदार पुनरागमन गरे । 

राफिन्हाले १८ गोल गर्दै बार्सिलोनालाई पुनः ला लिगा उपाधि जिताउन सहयोग गरे । जसले उनलाई क्लबमा अनिवार्य खेलाडीका रूपमा पुनः स्थापित गरेको हो ।