काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अबको दुई महिनाभित्र पशु कल्याण ऐन जारी गरिसक्ने प्रतिबद्धता गर्नुभएको छ । पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको आयोजनामा शुक्रबार ललितपुरमा भएको नेपालमा पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्त्व विषयक अन्तर्क्रियामा मन्त्री अधिकारीले पशु कल्याणका विषयमा आफूले धेरै कुरा सिकेको र प्रभावित भएको बताउनुभयो ।
पशु कल्याण ऐन निर्माण गरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति एवं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट संसद्मा पेश गर्ने सन्दर्भमा अन्तर्क्रिया भएको हो । विश्वका विभिन्न देशहरूमा पशु कल्याण सम्बन्धी कानुन धेरै पहिले नै निर्माण भई लागू भइसके पनि नेपालमा अझै हुन सकेको छैन । कार्यक्रममा वक्ताहरूले जनावरहरूप्रति हुने निर्दयी व्यवहारलाई रोक्न र पशु कल्याण प्रवर्द्धनका लागि कानुनी आधार सिर्जना गर्न छुट्टै पशु कल्याण ऐनको आवश्यकता रहेको बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७८ सालमै सैद्धान्तिक सहमति प्राप्त ऐनको मस्यौदा छलफलमा रहेको छ ।
कार्यक्रममा पूर्वसचिव योगेन्द्र कार्की र स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याणः आवश्यकता र महत्त्व विषयमा कार्यपत्र पेश गर्दै नेपालमा पशु कल्याणको वर्तमान अवस्था, ऐनको महत्व सम्बन्धमा प्रस्ट पार्नुभएको भयो । वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा पशु कल्याण कानुन र अदालत विषयमा प्रस्तुति गर्दै पशु कल्याणको वर्तमान अवस्था र कानुनी प्रावधानहरूका सम्बन्ध उल्लेख गर्नुभएको थियो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य बिजुला रायमाझीले सबै प्राणीहरूको बाँच्ने अधिकारलाई सुनिश्चित गर्ने गरी समितिमा दफावार छलफल गरिने बताउनुभयो । त्यस्तै अर्का सदस्य रञ्जिता श्रेष्ठले जनावरहरूको लागि बोलिदिने कोही नभएकोले पशु कल्याण ऐन निर्माण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले संघीय पशु कल्याण ऐन जारी भए लगत्तैको हिँउदे वा बर्खे अधिवेशनबाट स्थानीय पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।