काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त भएपछि शेयर बजारले सकारात्मक संकेत देखाएको छ । गभर्नर नियुक्त हुनुअघिका ६ कारोबार दिन लगातार घटेको शेयर बजार त्यसपछिका तीन दिन बढेको छ भने एक दिन मात्र सामान्य करेक्सन आएको छ ।
नयाँ गभर्नरले राष्ट्र बैंकमा लचिलो नीति बनाउने अपेक्षाका साथ लगानीकर्ताले शेयरमा लगानी बढाएका हुन् ।
बैंकहरूको नाफा र उद्योगको उत्पादनमा कमी आएसँगै पछिल्लो समय शेयर बजार घटिरहेको थियो । सरकार फेरिएसँगै गत साउनमा केही समय बढेको शेयर बजार त्यसपछि अन्य सकारात्मक सूचना नआउँदा पुनः घटेको थियो । तर गभर्नरमा विश्व पौडेल नियुक्त भएपछि फेरि केही बढ्न सुरु गरेको हो ।
पूँजीबजारप्रति नयाँ गभर्नरका यसअघिका सकारात्मक अभिव्यक्तिलाई आधार मानेर लगानीकर्ताले लगानी बढाएका हुन् ।
गत वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म निरन्तर बजार घटेको थियो । तर, गभर्नरमा पौडेललाई नियुक्त गर्ने खबर बाहिरिएपछि सोमबार १९ र मंगलबार ४९ अकंले बढेको थियो । बुधबार ७ अंकको करेक्सन आएको शेयर बजार बिहीबार पुनः १९ अंकले बढेको थियो । समग्रमा एक सातामै शेयर बजार ७९ अंकले बढ्दा लगानीकर्ताको सम्पत्ति १ खर्ब ३३ अर्बले बढेको छ ।